Sagun Khabar
विद्युत विस्तारको माग गर्दै बैतडीको मेलौलीमा जनप्रतिनिधि नै आमरण अनसनमा !
फोटो : आमरण अनसनमा बसेका वडा सदस्य भीमदत्त भट्ट र स्थानीय बमबहादुर चन्द, तस्बिर :अर्जुन कुँवर

बैतडी –विद्युत विस्तारको माग गर्दै बैतडीको मेलौलीमा जनप्रतिनिधि नै आमरण अनसनमा बसेका छन् । गाउँमा विद्युत विस्तार नभएको भन्दै मेलौली नगरपालिका वडा नं ९ का वडा सदस्य भीमदत्त भट्ट आमरण अनसनमा बसेका हुन् । 

गाउँमा विद्युत नभएकै कारण चितुवाको आक्रमणबाट स्थानीयहरुले अकालमा ज्यान गुमाउनु परीरहेकाले आमरण अनसनमा बसेको वडा सदस्य भट्टले बताए । उनले भने ‘हाम्रो माग सबै वडामा विद्युत विस्तार होस भन्ने हो । अहिले चितुवा प्रभावित क्षेत्र मेलौलीको ८ र ९ नम्बर जसरी भएपनि विद्युत विस्तार होस भन्ने हो । हाम्रो माग पूरा नहुन्जेल सम्म हामी अनसन छोड्दैनौं ।’

Atrya hospital

मेलौली नगरपालिका भवनकै आँगनमा आफूहरुले सोमबार बिहानदेखि अनसन शुरु गरेको वडा अध्यक्ष भट्टले बताए । अहिले वडा सदस्य भट्ट सहित स्थानीय बमबहादुर चन्द अनसनमा बसीरहेका छन् । आफूहरु सबै स्थानीयको प्रतिनिधित्व गरेर अनसनमा बसेको भट्टले बताए । 

मेलौली नगरपालिकाको वडा नं ८ र ९ को सिमानामा पर्ने डडेल्धुराको भागेश्वरमा विद्युत पुगिसकेकाले त्यतैबाट विद्युत विस्तारका लागि पहल गर्नुपर्ने उनीहरुको माग छ । ‘जसरी भएपनि यो आर्थिक बर्षभित्र विद्युत विस्तारका लागि प्रतिबद्धता नआएसम्म अनसनमा बस्छौं ।’वडा सदस्य भट्टले भने, ‘नगरपालिकाको नीति तथा कार्यक्रममा पनि विद्युत विस्तारको कुरा आएको छ । त्यसलाई कार्यान्वयनका लागि बजेट छुट्याएर काम अघि बढोस भन्ने हाम्रो माग हो ।’

यता मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले विद्युत विस्तारका लागि पालिकाले गर्नुपर्ने सम्पूर्ण प्रयास गरिरहेको बताए । उनले भने ‘मेलौलीमा सवस्टेशन निर्माणका लागि नेपाल विद्युत प्राधिकरण प्रादेशिका कार्यालयले प्रक्रिया अघि बढाईसकेको छ । यो काम जतिसक्दो चाँडो होस भनेर हामीले पालिकाका तर्फबाट समेत समन्वय गरिरहेका छौं ।’

विद्युत विस्तारको काम प्रक्रियामा अघि बढीसकेकाले अनसन बस्नु आवश्यक नरहेको नगरप्रमुख नायकले बताए । पालिकाका तर्फबाट सबै सरोकारवालाहरुलाई विद्युत विस्तारका लागि पहल गरिरहेको उनको भनाई छ । 

यसअघि आइतबार मात्रै मेलौली नगरपालिका वडा नं ८ र ९ का स्थानीयले विद्युत विस्तारको माग गर्दै नगरप्रमुख नायकलाई ज्ञापनपत्र बुझाएका शिक्षक अर्जुन कुँवरले बताए ।  । 

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update