Sagun Khabar
बैतडीका सामुदायिक वनमा डढेलो, लाखौंका वनसम्पदा जलेर नष्ट 

बैतडी –बैतडीका २० भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ । यो वर्ष सामुदायिक वनको साढे तीन सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका भएपनि सामुदायिक वनमा आगलागीका घटनाहरूमा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । 

जिल्लाको सिगास, पाटन, मेलौली, शिवनाथ र पञ्चेश्वरका सामुदायिक वनहरुमा बढी डढेलो लागेको कँडेलले बताए । सल्लेरी वन भएका क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ । स्थानीय उपभोक्ताहरुको लापरवाहीकै कारण बढी जसो आगलागीका घटनाहरु हुने गरेका छन् । 

सिगास गाउँपालिकाका ८ ओटा सामुदायिक वनको क्षेत्रमा डढेलो लागेको छ । सिगास गाउँपालिकाको २९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । 

सिगासको घट्टे सामुदायिक वन, सिगास भुमिराज सामुदायिक वन, सिगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिगास सांगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको छ ।

यस्तै पाटन नगरपालिका अन्तर्गतका उदयदेव, दहवयाला, ठुलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर , मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २ दशमलव ५ हेक्टर वनक्षेत्रमा डढेलो लागेको हो । यसैगरी पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन÷तीन हेक्टर वन क्षेत्रमा डडेलो लागेको छ ।

सामुदायिक वनहरुमा डढेलो लागेका कारण लाखौंका वन सम्पदाहरु जलेर नष्ट भएका छन् । यसका साथै वन्यजन्तुहरु समेत वन डढेलोबाट प्रभावित भएका डिभिजन वन प्रमुख कँडेलले जानकारी दिए ।

वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेको पाइएको छ । वन डढेलो नियन्त्रणका लागि स्थानीय सरकारहरुले समेत खासै ध्यान दिन सकेका छैनन् । 
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update