Sagun Khabar
नेपाली कांग्रेस बैतडीको जिल्ला सम्मेलन भोलि 

बैतडी –नेपाली कांग्रेस बैतडीको पहिलो जिल्ला सम्मेलन भोलि हुने भएको छ । जिल्लाको पाटनमा सम्मेलन सम्पन्न हुने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए । नेपाली कांग्रेसको विधान अनुसार पहिलो पटक जिल्ला सम्मेलन हुन लागेको उनले बताए । 

भोलि हुने जिल्ला सम्मेलनको तयारी पूरा भएको सचिव चन्दले बताए । वडा सम्मेलन, पालिका सम्मेलन र क्षेत्रीय सम्मेलन सम्पन्न भएपछि जिल्ला सम्मेलन हुन लागेको हो । नेपाली कांग्रेसको विधानमा बर्षमा दुई पटक वडा सम्मेलन गर्नुपर्ने, पालिका, क्षेत्रीय र जिल्ला सम्मेलन बर्षमा एक पटक गर्नुपर्ने व्यवस्था रहेको छ । 

सम्मेलनमा संगठन विस्तार, क्रियाशील सदस्यता, पार्टीले गरेको काम कारवाहीका बारेमा समीक्षा गरिने नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले बताए । नेपाली कांग्रेसलाई चलायमान बनाउन जिल्ला सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले भने ‘नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउन जिल्ला सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ । हामी हाम्रो पार्टीले गरेका कामको बिषयमा समीक्षा गरेर अघि बढ्छौं ।’

८४ ओटै वडाका सम्मेलन, १० ओटा पालिकाका सम्मेलन र दुईटै प्रदेश सभा क्षेत्रका क्षेत्रीय सम्मेलनबाट प्राप्त सुझावहरुलाई जिल्ला सम्मेलनमा छलफल गरिने सचिव चन्दले बताए । उनले भने ‘सम्मेलनमा पार्टीको आगामी कार्यदिशाका लागि घनीभूत रुपमा छलफल हुन्छ ।’

सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला प्रतिनिधिहरुका साथै वडा, पालिका र क्षेत्रका पदाधिकारी र क्रियाशील सदस्यहरुको सहभागिता रहनेछ । यस्तै नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्थाका प्रमुखहरुलाई पनि आमन्त्रण गरिएको सचिव चन्दले बताए । 

जिल्ला सम्मेलनका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर ओड बैतडी आउने बताइएको छ । सम्मेलनले पार्टीका लागि आगामी कार्यदिशा तय गर्ने जिल्ला सचिव चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update