बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित पञ्चेश्वर स्वास्थ्यचौकीमा सुत्केरी सेवा बन्द गरिएको छ । २०५२ सालदेखि नियमित सुत्केरी सेवा दिँदै आएको स्वास्थ्यचौकीले आइतबारदेखि सेवा बन्द भएको जनाएको छ ।
स्वास्थ्यचौकीमा पानीको अभावमा सेवा सञ्चालन गर्न नसकिने अवस्था आएपछि सुत्केरी सेवा बन्द गरिएको स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । स्वास्थ्यचौकीमा आकाशे पानीको भरमा सेवा सञ्चालन भइरहेको र जमा गरेको पानी सकिएपछि सेवा बन्द गर्नुपरेको उनले बताए ।
स्वास्थ्यचौकी हुँदै अर्को टोलमा पानी जाने भएपनि स्वास्थ्यचौकीका लागि पानी नदिएपछि सुत्केरी सेवा बन्द गर्नुपरेको स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकीमा पानीको व्यवस्थापनका लागि हारगुहार गरेको भएपनि कसैले चासो नदिएको जनाइएको छ ।
सुत्केरी सेवा बन्द हुँदा त्यहाँ गर्भवती महिलाहरुले घरमै बच्चा जन्माउनुपर्ने अवस्था सिर्जना भएको छ । यसले मातृमृत्यु र शिशु मृत्यु हुने जोखिम बढाएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । पानीको अभावमा सेवा बन्द गर्नुपर्दा समेत पञ्चेश्वर गाउँपालिकाले कुनै ध्यान दिन सकेको छैन् ।





