बैतडी –बैतडीमा रोपाँइ शुरु भएको छ । बैतडीका बेँसी क्षेत्र र सिंचाई सुविधा भएका ठाउँमा धान रोपाई शुरु भएको हो ।
समान्यतया जेठको दोश्रो हप्तादेखि साउनको पहिलो साता सम्म रोपाई गर्ने गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । जिल्लाको पाटन, सुर्नया लगायतका क्षेत्रमा धान रोपाई शुरु भएको उनले बताए ।
बर्खेबाली मध्ये मुख्यबालीको रुपमा रहेको धानबाली बैतडीका बेँसी क्षेत्रमा उत्पादन हुने गरेको छ । पाटन क्षेत्रमा रोपाईको चटारो बढेको किसान धर्म बिष्टले जानकारी दिए । पाटन सेरोमा रोपाँइ अन्तिम चरणमा पुगेको उनले बताए ।
सिँचाइ सुविधा भएका ठाउँमा रोपाँइको चटारो रहेको पाटन ३ की स्थानीय जयन्ती अवस्थीले बताइन् । अहिले गाउँघरका किसानहरु रोपाँइमा व्यस्त रहेका उनले बताइन् ।
बैतडीमा ९ हजार हेक्टरमा धान रोपाँइ हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्यांक छ ।




