बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीमा स्वचालित विद्युतीय टोकन प्रणाली शुरु गरिएको छ। सेवाग्राहीलाई सहजरूपमा सेवा दिनका लागि स्वचालित विद्युतीय टोकन प्रणाली शुरु गरिएको हो ।
शुक्रबारबाट स्वचालित विद्युतीय टोकन प्रणाली शुभारम्भ गरिएको जिल्ला प्रशाासन कार्यालय बैतडीका सूचना अधिकारी शंकर बहादुर बोहराले जानकारी दिए । यसले सेवाग्राहीलाई सहज हुने उनले बताए । गत असारदेखि प्रशासनमा टोकन प्रणाली लागु गरिए पनि स्वचालित भने थिएन ।
अहिले कार्यालयले स्वचालित मेसिन जडान गरेको छ । सेवाग्राहीले अव सिधै टोकन लिएर सेवा लिदाँ लामो समय लाईनमा बस्नु पर्ने बाध्यता हट्ने बताइएको छ । यसबाट समयको बचत हुने र टाढाका सेवाग्राहीलाई सहज हुने भएको हो । प्रशासन कार्यालय मार्फत प्रदान हुने सेवालाई पार्दशि र प्रभावकारी बनाउन स्वचालित विद्युतीय टोकन प्रणालीको व्यवस्था गरिएको उनले बताए ।
अब उपरान्त जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र लिन, नागरिकताको प्रतिलिपि लिन, राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न, राहदानी बनाउन र नाबालिग परिचयपत्र बनाउन लगायत सेवा लिन आउने सबैलाई स्वचालित विद्युतीय टोकन प्रणालीका आधारमा सेवा प्रवाह हुने सूचना अधिकारी बोहराले बताए ।




