बैतडी- बैतडीका विद्यालय कर्मचारी पारिश्रमिक वृद्धिको माग गर्दै शिक्षा कार्यालयमा ६ दिन देखि धर्नामा छन् । शिक्षा विकास तथा समन्वय इकाई बैतडीको कार्यालयमा विद्यार्थी कर्मचारी धर्नामा रहेका हुन् ।
शिक्षा कार्यालय घेरेर उनिहरु यहि २१ गते देखि दिनहुँ नाराजुलुस सहित धर्नामा छन् । शुक्रबार पनि धर्ना जारी रहेको कर्मचारी बिनोद बोहराले बताए । देश व्यापि आन्दोलन अनुसार बैतडीमा पनि पारिश्रमिक वृद्धिको माग गर्दै लेखापाल र कार्यालय सहयोगी आन्दोलन गरिरहेका छन् । यही जेठ २१ गतेदेखि आन्दोलनमा रहेका विद्यालय कर्मचारीहरु सरकारले आफुहरुका पीडा बुझनु पर्ने माग गरिरहेका छन् ।
सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने लगायतका कुराहरु गरेको भएपनि बजेटबाट त्यो कुरा सम्बोधन नगरेकाले विद्यालय कर्मचारीहरु देशैभरी आन्दोलनमा उत्रिएका छन् । सरकारले आफूहरुलाई विभेद गरेकाले आन्दोलनमा उत्रिनुपरेको विद्यालय कर्मचारी बिर बहादुर पण्डेले बताए ।
बैतडीमा विद्यालय कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालयमा धर्ना दिनुका साथै नाराजुलुस समेत गरिरहेका छन् । आफूहरुका माग पूरा नभए विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने कर्मचारीहरुले चेतावनी दिएका छन् । असार २ गतेबाट विद्यालय बन्द गर्ने उनिहरुको चेतावनी छ ।
विद्यालयमा कार्यरत लेखापालले १३ हजार ५ सय पाँउछन् भने कार्यालय सहयोगीले ८ हजारमा चित्त बुझाउनु पर्ने बाध्यता छ ।




