Sagun Khabar
बैतडीको पाटनमा सुरक्षित  आवास गृहको भवन निर्माण हुने 

बैतडी –बैतडीको पाटन नगरपालिका क्षेत्रभित्र सुरक्षित आवास गृह (सेफ हाउस)को नयाँ भवन निर्माण हुने भएको छ । नगरपालिकाले सेफ हाउसको भवन निर्माणका लागि यो भन्दा पहिला नै जमीनको व्यवस्थापन गरिसकेको छ । पाटन नगरपालिका वडा नं ६ भित्र सेफ हाउसका लागि छुट्याएको जमीनमा सेफ हाउसको भवन निर्माण गरिने नगर उपप्रमुख कमलसिंह बोहराले बताए । 

सुरक्षित  आवास गृह (सेफ हाउस) निर्माणका लागि ८० लाख बजेट संघीय सरकारले विनियोजन गरेको उनले बताए । आगामी आर्थिक बर्षदेखि भवन निर्माण कार्य शुरु हुने उनले बताए । 

हिंसा प्रभावित महिला तथा बालबालिकाहरुको संरक्षणका लागि बैतडीको पाटनमा घर भाडामा लिएर सुरक्षित  आवास गृह सञ्चालनमा रहेको छ । सरकारले सुरक्षित महिला आवास गृहको भवन निर्माणका लागि बजेट विनियोजन गरेकाले खुसी लागेको मनोविमर्शकर्ता डम्मरी भट्टले बताइन् । 

पाटनमा सञ्चालनमा रहेको  सुरक्षित आवास गृहले अहिले हिंसा प्रभावित महिला तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ । महिला सुरक्षित गृहको आफ्नै भवन निर्माण भएमा हिंसा प्रभावितहरुलाई समेत सहज हुने उनले बताइन् । 

पाटनमा सञ्चालनमा रहेको सुरक्षित आवास गृहबाट अहिले सम्म ५ सय बढी हिंसा प्रभावितहरुलाई सेवा दिइएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update