Sagun Khabar
डिलाशैनी–५ का टोलटोलमा कृषि र पशु स्वास्थ्य प्राविधिक 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं ५ अन्तर्गतका टोलहरुमा कृषि र पशु स्वास्थ्य प्राविधिक खटिएका छन् । घरपालुवा पशुचौपायाहरुमा लम्पी स्कीन रोगका प्रकोप फैलिएपछि त्यसको रोकथामका लागि पशु स्वास्थ्य प्राविधिक खटिएका वडा अध्यक्ष यज्ञराज भट्टले जानकारी दिए । 

बिहीबारदेखि वडाका टोलहरुमा पुगेर प्राविधिकहरुले सेवा दिन थालेका वडा अध्यक्ष भट्टले बताए । लम्पी स्कीन रोगले समस्या पुर्याएका ठाउँमा पशु स्वास्थ्य प्राविधिकहरु केन्द्रित रहेका उनले बताए । 

यस्तै टोलमा कृषि प्राविधिक पनि खटिएका वडा कार्यालयले जनाएको छ । प्राविधिकहरुले बिहीबार (आज) पडिया, ओखलबाटा र लेट्ठेकोट टोलमा सेवा दिइरहेका छन् । 

शुक्रबार वडाको खोलीगाउँ, देवगाउँ, आरायन, गल्लेगडा र नगराउँमा प्राविधिक खटिनेछन् भने शनिबार बिनाबस्थी, दलित टोल, तुसारी, जिमड र जुक्याउने टोलमा प्राविधिकहरु खटिनेछन् । 

यस्तै जेठ २८ गते विनाबस्थी, गोगुनखोला, भैन्थला र देशाली खाँड टोलमा प्राविधिक पुग्नेछन् भने २९ गते पुजारीगाउँ, खोली, भुइसल्ली, दौंतला र रौतपडे टोलमा प्राविधिक पुग्नेछन् । 

यस्तै जेठ ३० गते बासीगाउँ, थाम,नागिनी र सेरा टोलमा प्राविधिक खटिनेछन् । 

टोलटोलमा प्राविधिकहरु पुगेर लम्पीस्कीन रोग नियन्त्रण र रोकथामका लागि आवश्यक उपाय अपनाउनेछन् । यस्तै पशुहरुलाई बधिया बनाउने, आन्तरिक तथा बाह्य परजिवी नियन्त्रणका लागि औषधि वितरण गरिनेछ । 

कृषि प्राविधिकहरुले बर्खेबालीको अनुगमनका साथै रोगकीरा देखिएका ठाउँमा बिषादी वितरण गर्ने कार्य हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update