Sagun Khabar
बैतडीको मेलौली नगरपालिकाले बिधुर र टुहुरा बालबालिकाको भत्ता ५ सयले बढायो 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्षदेखि बिधुर भत्तामा ५ सय थप गरेको छ । यसअघि प्रतिमहिना एकहजार पाँच सय बिधुर भत्ता दिइदै आएकोमा अबको आर्थिक बर्षदेखि मासिक २ हजार बिधुर भत्ता दिइने नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । 

नगरपालिकाले गएको तीन बर्ष यता ५० बर्षभन्दा माथि र ६० बर्ष भन्दा मुनिका बिधुरहरुलाई भत्ता दिँदै आएको छ । शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत बर्ष १ हजार ५ सय भत्ता पुर्याइएको थियो । आगामी आर्थिक बर्षदेखि ५ सय थप गरेर २ हजार भत्ता दिइने उपप्रमुख ओझाले बताइन् । उनले भनिन् ‘बिधुर पुरुषहरुलाई दैनिक जीवनयापनमा सहज होस भनेर हामीले भत्ता दिन थालेका हौं ।’

Atrya hospital

मेलौलीमा ५० बर्षमाथिका र ६० बर्ष मुनिका ८८ जना बिधुरले भत्ता प्राप्त गरिरहेका छन् । अबको आर्थिक बर्षदेखि बैंक मार्फत भत्ता दिइने पनि उपप्रमुख ओझाले बताइन् । 

यस्तै नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि वृद्धि गरेको छ । आमा बुवा दुवै गुमाएका बालबालिकाहरुको सहयोगका लागि भन्दै गएको तीन बर्ष यता टुहुरा बालबालिकालाई पनि भत्ता प्रदान गरिँदै आएको नगरपालिकाले जनाएको छ ।

 नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ जना बालबालिका रहेका र उनीहरुलाई मासिक भत्ता दिँदै आएको उपप्रमुख ओझाले बताइन् । 

टुहुरा बालबालिकाको शिक्षादिक्षमा सहज होस भनेर भत्ता दिने कार्य गरिएको नगरप्रमुख कृष्णसिंह नायकले बताए । यस्तै बिधुर पुरुषहरुलाई पनि उनीहरुको दैनिक जीवनयापनमा केही सहयोग पुगोस भनेर बिधुर भत्ता दिने गरिएको उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  १२:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update