Sagun Khabar
बैतडीका सरकारी कार्यालयहरुले बार अनुसार सेवा दिने 

बैतडी –बैतडीका सरकारी कार्यालयहरुले आगामी बुधबारदेखि सेवा सुचारु गर्ने भएका छन् । कोरोनाको संक्रमणदर बढेसंगै गत वैशाखदेखि बन्द भएका सेवाहरु सुचारु गर्ने तयारी भएको हो । जिल्ला प्रशासन सहित अन्य कार्यालयहरुले दिने सेवा असार १६ गतेदेखि नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । 

प्रत्येक स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । आइतबार शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकले सेवा लिन सक्नेछन् भने सोमबार मेलौली नगरपालिका र सिगास गाउँपालिकाका नागरिकले सेवा पाउनेछन् । यस्तै मंगलबार दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिनेछ । 

Atrya hospital

यसैगरी बुधबार पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ भने बिहीबार पाटन नगरपालिकाका नागरिकलाई सेवा प्रदान गरिनेछ । यसैगरी दशरथचन्द नगरपालिकाका नागरिकले शुक्रबार सेवा लिन पाउने प्रशासन कार्यालयले जनाएको छ । 

सेवा लिन आउँदा हरेक नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने सूचना अधिकारी भारतीले बताए । 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update