Sagun Khabar
बैतडीका स्थानीय तहको प्राथमिकतामा ‘हजार दिने आमा’ 

बैतडी –बैतडीका स्थानीय तहहरुले आगामी आर्थिक बर्षमा हजार दिने आमालाई प्राथमिकतामा राखेका छन् । हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणका लागि स्थानीय तहहरुले उपमेयर तथा उपाध्यक्षको कोसेली कार्यक्रमलाई निरन्तरता दिएका छन् । हजार दिने आमाको स्वास्थ्यका बारेमा परिवारलाई सचेत बनाउन यो कार्यक्रम प्रभावकारी भएको स्थानीय तहहरुको ठहर रहेको छ । 

कोसेली मार्फत गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य र पोषणका बिषयमा परिवारका सदस्यहरुले ख्याल राख्नुपर्छ भन्ने कुरामा स्थानीयहरु जानकार भएका मेलौली नगरपालिकाका उपप्रमुख राधा ओझाले बताइन् । उपमेयरको कोसेली कार्यक्रमले संस्थागत सुत्केरी हुनेको संख्या बढाएकाले पनि यो कार्यक्रमलाई निरन्तरता दिएको उनले बताइन् । उनले भनिन् ‘यो कार्यक्रमले गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्यको बारेमा परिवारका सदस्यहरु जानकार भएका छन् ।’

Atrya hospital

जिल्लाको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा उपाध्यक्षको कोसेली कार्यक्रमलाई निरन्तरता दिएको छ । मातृ तथा शिशुमृत्युदरमा कमी ल्याउन कार्यक्रम प्रभावकारी रहेको पालिकाको ठहर छ । 

यस्तै पुर्चौंडी नगरपालिकाले शुरु बर्षदेखि नै सञ्चालनमा ल्याएको उपमेयरको कोसेली कार्यक्रमलाई निरन्तरता दिएको उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् । जिल्लाको दोगडाकेदार गाउँपालिकाले पनि उपाध्यक्षको कोसेली कार्यक्रमलाई निरन्तरता दिनुका साथै छोरी जन्माउने आमालाई प्रोत्साहन भत्तामा थप गरेको उपाध्यक्ष पार्वती कार्कीले बताइन् । उनले भनिन् ‘हजार दिनका आमाको स्वास्थ्य र पोषणका लागि यो कार्यक्रम प्रभावकारी रहेको छ । त्यसैले हामीले यो कार्यक्रमलाई निरन्तरता दिएका छौं ।’

यो भन्दा पहिला छोरी जन्माउने आमालाई एक हजार थप भत्ता दिँदै आएकोमा आगामी बर्षदेखि दुई हजार दिइने उपाध्यक्ष कार्कीले बताइन् । 

यसैगरी सिगास गाउँपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले पनि उपाध्यक्षको कोसेली कार्यक्रमलाई निरन्तरता दिएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकाले पनि नगर उपप्रमुख मातृ शिशु सुरक्षा योजनालाई निरन्तरता दिने जनाएको छ । 

यस्ता खालका कार्यक्रमले हजार दिने आमा र बच्चाको स्वास्थ्य र पोषणका लागि महत्वपूर्ण भूमिका खेल्ने सुआहारा बैतडीका जिल्ला संयोजक नागेन्द्रसिंह धामीले जानकारी दिए । उनले भने ‘स्थानीय सरकारहरुले हजार दिनका आमा र बच्चाको स्वास्थ्य र पोषणका बारेमा चासो राख्नु जरुरी छ । स्वस्थ नागरिकका लागि पनि यो बेला ध्यान जानु आवश्यक छ ।’ 
 

प्रकाशित मिति: आइतबार, असार १३, २०७८  ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update