बैतडी –बैतडीको पाटनमा सम्पन्न मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगिताको उपाधी पाटन भ्यालीले उचालेको छ । शुक्रबार पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा हिमचुलीलाई पराजित गर्दै भ्यालीले उपाधिमा कब्जा जमाएको हो ।
टस जितेर व्याटिङ गरेको हिमचुलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४३ रन बनाएको थियो ।
१४४ रनको मध्यम लक्ष्य पछ्याएको भ्यालीले १७.१ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो । भ्यालीका धिरेन्द्र चन्दले ५५ रनको अर्धसतकीय पारी खेलेका थिए भने किरन चन्दले ४५ रनको योगदान गरेका थिए । भ्यालीका किरन चन्द म्यान अफ द फाइनल चुनिए ।
उपाधीसंगै पाटन भ्यालीले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपबिजेता बनेको हिमचुलीले ९ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हिमचुलीका विकास बिष्ट म्यान अफ द सिरिज चुनिए । हिमचुलीकै सन्नी बिष्ट उत्कृष्ट ब्याट्सम्यान चुनिए ।
यसैगरी सेमीफाइनल र फइनलमा महत्वपूर्ण भूमिका खेलेका भ्यालीका धिरेन्द्र चन्द उत्कृष्ट बलर चुनिए ।
यसैगरी प्रतियोगितामा इमरजिङ प्लेयर हिमचुलीका स्वयम बिष्ट चुनिए ।
जेठ १२ गतेदेखि सुरु भएको मेयर तथा उपमेयर क्रिकेट प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो ।
आज एक औपचारिक कार्यक्रमकाबीच पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिंह रावलले ट्रफीसहित प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।