Sagun Khabar
बैतडीमा चर्मण्यावती साहित्य सम्मेलन हुने 

बैतडी–बैतडीमा चर्मण्यावती साहित्य सम्मेलन हुने भएको छ । जिल्लाको गोकुलेश्वरमा यही जेठ १५ र १६ गते साहित्य सम्मेलन हुने आयोजक राष्ट्रियता संरक्षण अभियान बैतडीले जनाएको छ । 

सम्मेलनमा नेपाल तथा भारतका कवि तथा साहित्यकारहरुको सहभागिता रहने राष्ट्रियता संरक्षण अभियान बैतडीका अध्यक्ष हेमबाबु लेखकले जानकारी दिए । 

Atrya hospital

स्थानीय संस्कृतिको संरक्षण तथा प्रचार–प्रसारका लागि सम्मेलनको आयोजना गर्न लागिएको उनले बताए । उनले भने ‘हाम्रो संस्कृति संरक्षणका लागि सम्मेलनको तयारी गरिएको हो । यसमा सबैको सहयोग रहने अपेक्षा गरेका छौं ।’

सम्मेलनमा नेपाल तथा भारतका साहित्यकार तथा कविहरुको सहभागिता रहने जनाइएको छ । सम्मेलनमा सगुन, फाग, भढाहा लगायतका संस्कृति साहित्यहरु प्रस्तुतीको तयारी छ भने विद्वान साहित्यकारहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको लेखकले बताए । 

डिलाशैनी गाउँपालिका प्रवर्धक रहेको सम्मेलनमा सीमावर्ती भारतीय साहित्यकार डा.पिताम्बर अवस्थी लगायतको सहभागिता रहनेछ । यस्तै नेपालका तर्फबाट सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकूलपति डा.टीएन जोशी, श्रेष्ठ प्रिया ‘पत्थर’, खगेन्द्र गिरी ‘कोपिला’, नारा जोशी, रमेश पन्त ‘मितबन्धु’, जगदीश ओझा लगायतका साहित्यकार तथा कविहरुको सहभागिता रहनेछ । 

नेपाल र भारत सांस्कृतिक र साहित्यक हिसाबले पनि नजिक रहेका मुलुक भएकाले दुवै देशका साहित्यकारहरुको सहभागितामा सम्मेलनको आयोजना गरिन लागेको हो । मानसखण्ड संस्कृति दुवै देशको साझा संस्कृति भएकाले सम्मेलनमा भारतीय पक्षको समेत सहभागिता गराइने आयोजकले जनाएको छ । यसले दुवै देशको सम्बन्धमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ । 

पौराणिक चर्मण्यावती नदीको समीप गोकुलेश्वरमा आयोजना हुने साहित्य सम्मेलनले डोटेली संस्कृति र साहित्यको उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साहित्यकारहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update