दार्चुला –दार्चुलामा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ । जिल्लाको ब्याँस गाउँपालिका–४ को सुन्सेरामा सशस्त्र प्रहरीले बोर्डर आउट पोष्ट(बीओपी) स्थापना गरेको हो ।
बैजनाथ बाहिनी नम्बर ७ का सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) किरण ढुंगाना, ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामी र प्रमुख जिल्ला अधिकारी किरण जोशीले सोमबार बीओपीको संयुक्त रुपमा उद्घाटन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) डम्बर बिष्टले बताए ।
उक्त बीओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक त्रिभुवन विष्टको नेतृत्वमा २० जनाको टोली खटाइएको छ । यो सँगै दार्चुलाको भारतसंग जोडिएको सीमा क्षेत्रमा बीओपीको संख्या चार पुगेको छ । केही महिना अघि सशस्त्र प्रहरीले मालिकार्जुन गाउँपालिका–६ को बाँकु र ब्याँस गाउँपालिका–२ को मालघाटमा झोलुङ्गे पुलमा पनि सुुरक्षा पोष्ट स्थापना गरेको थियो ।
ब्याँस गाउँपालिका–१ को तिङकरमा पनि थप एउटा बीओपी स्वीकृत भएकाले चाडै स्थापना गरिने सशस्त्र प्रहरीले जनाएको छ ।