दार्चुला –दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका अन्दाजी १५ बर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
चट्याङ लागेर सोही ठाउँका अन्दाजी ३९ बर्षीया मीना खत्री र ३० बर्षीय कुमार खत्री घाइते भएका छन् । मीना र नरेश आमा छोरा हुन् ।
सोमबार साँझ साढे ६ बजेतिर खेतमा काम गरिरहेका बेला उनीहरुलाई चट्याङ लागेको थियो । चिउरी रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ ।
चट्याङबाट घाइते भएका तीनैजनालाई गोकुलेश्वर अस्पताल पुर्याउँदा नरेश खत्रीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मीना र कुमारको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र दुवै जनाको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।