दार्चुला–दार्चुलाको व्याँस गाउँपालिका १ भोलममा हिमपहिरोमा परेर मृत्यु भएकाहरुको शव ल्याउन समस्या भएको छ । मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना मध्ये ३ जनाको शव फेला परेको थियो । भारतीय सडकमार्गबाट उनीहरुको शव सदरमुकाम खलंगा ल्याउने भनिएपनि भारततर्फ सडकमा पहिरो खस्दा समस्या भएको छ ।
दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ की ३८ वर्षीया कमला कुँवर, १८ वर्षीय प्रविण कुँवर र डोटीको जोरायल गाउँपालिकाको बुडर बस्ने ४५ वर्षीय नक्की डोमा थापाको शव भारतीय सडक मार्ग हुँदै सदरमुकाम ल्याउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
बिहीबार नै उनीहरुको शव खलंगा पुर्याउने भनेपनि सडकमा पहिरो खस्दा शव बोकको गाडी बीचबाटोमै रोकिएको छ । सडक सुचारु भएपछि आज उनीहरुको शव खलंगा पुर्याइने बताइएको छ ।
मृतकको शव पोष्टमार्टमपछि आफन्तहरुको जिम्मा लगाइने प्रहरी निरीक्षक सिंहले जानकारी दिए । हिमपहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ बुडरकी २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिमी सामो थापाको अवस्था अझै पनि अज्ञात रहेको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बेपत्ताहरुको खोजी गरिरहेको छ । मंगलवार हिमपहिरो गएपछि यार्सागुम्बा टिप्न गएका ५ जना बसिरहेको टेन्टसहित बेपत्ता भएका थिए । ७ जनाले भागेर ज्यान जोगाएका थिए । भागेर ज्यान जोगाएका ७ जनालाई प्रहरीले सकुशल उद्धार गरेको थियो ।