बैतडी –दार्चुलामा हिमपहिरोमा परेर मृत्यु भएका तीन जनाको सनाखत भएको छ । व्यास गाउँपालिका १ भोलममा मंगलबार हिमपहिरोमा परेर बेपत्ता भएका ५ जना मध्ये तीन जनाको शव आज फेला परेको थियो ।
सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म छाङरुबाट खटिएको उद्धार टोलीले तीन जनाको शव फेला पारेको थियो । मृत फेला परेका तीनै जनाको सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
हिमपहिरोमा परेर मृत्यु हुनेमा दार्चुलाको दुहँु गाउँपालिका ४ धारीका ३६ बर्षीया कमला कुँवर र उनका छोरा १८ बर्षीय प्रवीण कुँवर र डोटीको जोरायल गाउँपालिका वडा नं २ बुडरका ४५ बर्षीया नक्की डोमा थापा रहेका प्रहरी निरीक्षक सिंहले बताए ।
हिम पहिरोमा परेर बेपत्ता भएका डोटीको जोरायल गाउँपालिका २ बुडरका २८ बर्षीया ईश्वरी थापा र सोही ठाउँका १५ बर्षीया छिमी थापाको अवस्था भने अझै अज्ञात रहेको प्रहरीले जनाएको छ ।
यार्सागुम्बा संकलनका लागि हिमाल चढेका उनीहरु हिमपात भएसंगै मंगलबार हिमपहिरोमा फसेका थिए । हिमपहिरोमा फसेका ७ जनाको भने सकुशल उद्धार गरिएको थियो ।