Sagun Khabar
नेपाल र यूएईबीचको बाँकी खेल भोलि हुने

काठमाण्डौं –एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र यूएईबीचको फाइनल खेल आजका लागि स्थगित भएको छ ।

भोलि यही अवस्थाबाट खेल सुरु हुनेछ । टस हारेर ब्यटिङ गरेको यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो ।

Atrya hospital

बिहान ११ बजेर ४८ मिनेटमा रोकिएको खेल सोही अवस्थाबाट मंगलबार बिहान ९ बजेदेखि सुरु हुनेछ । यो प्रतियोगितामा रिजर्भ डे राखिएको थियो । वर्षाले सोमबार (आज) खेल हुन नसक्ने भएपछि प्रतियोगिताको नियमअनुसार म्याच रेफ्री सारिका प्रसादले रिजर्भ डेका दिन बाँकी खेल खेलाउने निर्णय गरेका हुन् । टस हारेर पहिला ब्याटिङ गरेको यूएईमाथि पहिलो इनिङ्समा नेपाल हाबी छ ।

नेपालका लागि ललित राजवंशीले ३ विकेट लिएका छन् भने सन्दीप लामिछाने र करण केसीले २–२ तथा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिएका छन् । यूएईका आसिफ खानले सर्वाधिक ४६ रन जोडेका थिए ।

मंगलबारको बाँकी खेलमा पहिलो बल ललित राजवंशीका लागि ह्याट्रिकको अवसर हुनेछ । २८औं ओभरको दोस्रो र तेस्रो बलमा लगातार विकेट लिएका ललितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याट्रिकको सम्भावनासहित खेल सुरु गर्नेछन् ।

भोलि पनि मौसम खराबी रहे र खेल हुन नसके आईसीसी वरीयताका आधारमा नेपाल विजयी हुनेछ । त्यसअघि सम्भव भएसम्म सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास गरिनेछ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update