बैतडी –नेकपा एमालेले संसदको सार्वजनिक लेखा समितिमा सुदूरपश्चिमका दुई सांसदलाई समेटेको छ । बैतडीबाट निर्वाचित सांसद दामोदर भण्डारी र कञ्चनपुर –१ का सांसद तारा लामा तमाङको नामा लेखा समिति सदस्यका लागि पठाइएको एमाले स्रोतले जनाएको छ ।
भण्डारी एमालेका सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष समेत रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत एमालेको भागमा परेका विभिन्न संसदीय समतिका लागि प्रतिनिधित्व गर्ने सांसदहरुको नामावाली टुंग्याएको एमालेले जनाएको छ । नामावली संघीय संसद सचिवालयमा बुझाइएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई नामावली बुझाएका थिए ।
सार्वजनिक लेखा समितिमा भण्डारी र तामाङ बाहेक योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी र रुक्मणी राना बराइलीको नाम पनि पठाइएको छ ।
यस्तै पूर्वाधार विकास समितिमा बाजुराका समानुपातिक सांसद दयालबहादुर शाहीको नाम पनि पठाइएको छ । उक्त समितिमा गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), प्रेमबहादुर महर्जन र राजकुमार गुप्तालगायतको नामावली पठाइएको छ ।





