बैतडी –राष्ट्रिय महिला आयोगले बैतडीमा अन्तरक्रिया सम्पन्न गरेको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयको हलमा महिला हिंसा न्यूनीकरणका सवालमा छलफल गर्दै अन्तरक्रिया सम्पन्न गरेको हो ।
अन्तरक्रियामा आयोगका अध्यक्ष कमलाकुमारी पराजुली, आयोगका प्रवक्ता चमिला भट्टराई लगायतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
आयोगले हिंसा अन्त्यका लागि स्थानीय तहको न्यायिक समिति, प्रहरीको महिला सेल र नागरिक समाजका प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले कुप्रथा, कुरीती र बालविवाहका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारीले प्रस्तुत गरेको कार्यपत्र अनुसार गएको साउनदेखि अहिले सम्म प्रहरीमा घरेलु हिंसाका १९ र लैगिंक हिंसाका ११ ओटा उजुरी दर्ता भएका छन् । ती मध्ये २१ ओटामा मिलापत्र गरिएको छ भने बाँकी उजुरीमाथि छानबीन भइरहेको छ ।
जिल्ला अस्पताल बैतडीमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा चालु आर्थिक बर्षमा १८१ जना पिडित महिलाहरु पुगेको केन्द्रका संयोजक डा. थानेश्वर न्यौपानेले बताए ।





