Sagun Khabar
दार्चुलामा फोरजी सेवा विस्तार 

दार्चुला –दार्चुलाको लेकम गाउँपालिका–२ स्थित कैनोडा टावर र लेकम गाउँपालिका–६ स्थित उचाकोट टावरबाट फोरजी सेवा सुचारु भएको छ । ती टावरसम्म राष्ट्रिय प्रसारणको विद्युत् लाइन विस्तार भएसँगै फोरजी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्णबहादुर गुरुङले जानकारी दिए ।

सञ्चालनमा रहेका ३० वटा टावरमध्ये २५ वटामा फोरजी सेवा विस्तार भइरहेको उनले बताए । स्काई फेजआउट गरेर छाङरुबाहेक सबै टावरमा जीएसएम  सेवा विस्तार गरिएको छ ।

Atrya hospital

छाङरुमा मात्रै स्काइ रहेको र त्यो पनि चालु आर्थिक वर्षभित्रै विस्थापित हुने भएको छ । धेरै ठाउँमा नयाँ टावर निर्माणका लागि सर्भे भइसकेको नेपाल टेलिकमले जनाएको छ ।

हालसम्म एडीएसएल इन्टरनेट सेवा मात्रै भएकोले जिल्ला सदरमुकाम खलङ्गामै इन्टरनेटको गति कमजोर रहेको सेवाग्राहीको गुनासो छ । अप्टिकल फाइबर इन्टरनेट जिल्ला सदरमुकाम खलङ्गामा जडान गर्ने काम भइरहेको र चालु आर्थिक वर्षभित्रै सदरमुकाम क्षेत्रका ग्राहकको इन्टरनेट समस्या समाधान हुने टेलिकमले जनाएको छ । 

दुर्गम गाउँ व्यास गाउँपालिका–१ स्थित टिङ्कर अहिले पनि सञ्चारको पहुँचबाहिर रहेको छ । टिङ्करमा रेडियो लिङ्क पु–याउन सकिने अवस्था नभएकोले सेटेलाइटमार्फत टुजी बीटीएस जडान गरेर सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।
भगौलिक विकटता र विद्युतीकरण नहुँदा सञ्चार सेवा विस्तार र क्षमता अभिवृद्धिमा समस्या भइरहेकोले विद्युतको पहुँच पुगेको ठाउँमा फोरजी सेवा धमाधम विस्तार भइरहेको जनाइएको छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update