Sagun Khabar
बैतडीका तीन किसानलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार 

बैतडी –बैतडीका तीन जना किसानहरुलाई ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कार प्रदान गरिएको छ । कृषि पेशामा लागेर राम्रो काम गरिरहेका अगुवा किसानहरुलाई सो पुरुस्कार प्रदान गरिएको हो । 

सोमबार जिल्ला सदरमुकाममा भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय डोटीले एक कार्यक्रमको आयोजना गरी किसानहरुलाई पुरस्कार वितरण गरेको हो ।  

‘भीमदत्त उत्कृष्ट कृषक’पुरस्कारबाट दशरथचन्द नगरपालिकका .९ का महेश पाण्डेय , पाटन नगरपालिका.९ का जयन्ती बिजले र मेलौली नगरपालिका ६ का चिन्तामणी भट्ट सम्मानित भएका हुन् । 

उनीहरुलाई जनही २५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र वितरण गरिएको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताए । 

प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार बैतडीका ३ जना किसानलाई पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

उत्कृष्ट किसानहरुलाई प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले दोसल्लासहित पुरस्कार प्रदान गरेका थिए । किसानहरुलाई पुरस्कार प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी पन्थीले कृषि पेशाबाटै राम्रो गरेका किसानहरु पुरस्कृत भएकोमा खुसी व्यक्त गरे । 

पुरस्कार प्राप्त भएपछि आफूहरुलाई कृषि पेशामा लाग्न थप प्रेरणा मिलेको किसान चिन्तामणी भट्टले बताए । कृषि पेशाबाटै आफूले जिविकोपार्जन गरिरहेकाले यो पुरस्कारले थप प्रेरित गरेको उनले बताए । नमूना कृषकको रुपमा परिचित भट्टले कृषि व्यवसायलाई थप अगाडि बढाउने बताए । 

यस्तै पुरस्कारबाट पुरस्कृत भएकी महिला किसान जयन्ती बिजलेले पुरस्कार पाउँदा खुसी लागेको बताइन् । कृषि पेशाबाटै आफू समाजमा स्थापित भएको र आम्दानी समेत गरिरहेको उनले सुनाइन् । यो भन्दा पहिला पनि उनी विभिन्न पुरस्कारबाट सम्मानित भइसकेकी छन् । 

पाटन नगरपालिकाको नगरकार्यपालिका सदस्य समेत रहेकी बिजलेले कृषि पेशाले नै आफूलाई राजनीतिमा समेत सफलता मिलेको बताइन् । उनले भनिन् ‘महिलाले पनि कृषिबाट आम्दानी गर्न सक्छन् भन्ने कुरा स्थापित गर्न सफल भएकी छु । यो पुरस्कार पाउँदा धेरै खुसी लागेको छ । यो पुरस्कारले आगामी दिनमा अगाडि बढ्न हौसला मिलेको छ ।’
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update