दार्चुला –पुल निर्माण गर्दाको ज्याला नपाएपछि श्रमिकले दार्चुलामा झोलुंगे पुल बन्द गरेका छन् । दुई वर्ष अगाडि निर्माण भएको जिल्लाको दुहुँ गाउँपालिका–१ र ५ जोड्ने झोलुंगे पुलमा काम गरेको रकम नपाएपछि मजदुरले पुल बन्द गरेका हुन् । गाउँपालिकाको दुई करोड १० लाख लागत रहेको तीन सय ९० मिटर लम्बाइको उक्त पुलको विसं २०७६ मा निर्माण सुरु भएको थियो ।
दुई वर्षभित्र पुल निर्माण गर्नुपर्ने समय सीमा रहेको पुलमा अहिले पनि लोड टेस्टलगायतका काम बाँकी रहेकाले अन्तिम किस्ता भुक्तानी हुन बाँकी रहेको गाउँपालिका–१ का वडाध्यक्ष जीतबहादुर बमले बताए । पुलमा केही संरचनाको प्राविधिक परीक्षणमा त्रुटिसमेत भेटिएको र पुलको छेउतिरको एक लठ्ठासमेत खुस्किएको अध्यक्ष बमले बताए ।
पुल निर्माणको भौतिक काम सम्पन्न भएको दुई वर्ष समय हुँदा समेत ठेकेदार कम्पनीले श्रमिकको ज्याला भुक्तानी नगरेको भन्दै स्थानीय श्रमिकले शुक्रबारदेखि पुल बन्द गरेको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्र बडालले बताए । पटक–पटक काम गरेको ज्यालाका लागि आग्रह गर्दा पनि ज्याला नपाए पछि पुल नै बन्द गर्नुपरेको श्रमिक मजदुरहरुको भनाइ छ ।
झोलुंगे पुलको दुवैतिर तारजाली र जस्तापाता लगाएर बार लगाइएको छ । पुल बन्द भएपछि जिल्ला सदरमुकाम खलंगा आउने र काम विशेषले गाउँपालिकाको कार्यालयसम्म जाने नागरिकलाई दुई घण्टा लामो बाटो भएर जानुपर्ने अवस्था सिर्जना भएको छ । निर्माणको जिम्मेवारी पाएको जगदम्बा दोभान कन्सट्रक्सनले श्रमिकको ज्याला अझैसम्म नदिनुका कारण भने खुलेको छैन् ।
पीडितले जिल्ला प्रशासन कार्यालयमा लिखित निवेदन दिएको र ठेकेदार कम्पनीलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन् । श्रमिकले श्रम गरेबापतको पाउनुपर्ने रकम पाउनुपर्ने र स्थानीय श्रमिकले पनि सार्वजनिक पुल बन्द गर्न नहुने उनको भनाइ छ ।