बैतडी –बैतडीको मेलौलीमा शुक्रबारदेखि सञ्चालन भएको बृहत स्वास्थ्य शिविरमा ४ हजार ५ सय जनाले सेवा लिएका छन् । बैतडी समाज कैलाली, च्यारेटी हेल्थ फाउण्डेसन र धनगढी नेत्रालयको आयोजना तथा मेलौली नगरपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो ।
तीनदिन सम्म चलेको शिविरमा तल्लोसोराड क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएको शिविर संयोजक गजेन्द्रबीर चन्दले बताए । शिविरमा आएर सेवा लिनेमा ६५ प्रतिशत महिला र ३५ प्रतिशत पुरुष रहेका उनले बताए ।
केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली र मणिलेक मावि काँडा मेलौलीमा सञ्चालन भएको शिविरमा आँखा, नाक,कान, घाँटी रोग सम्बन्धी सेवा दिइएको थियो । यस्तै बालरोग, स्त्रीरोग,समान्य स्वास्थ्य परीक्षण, हाडजोर्नी सम्बन्धी समस्यामा बिशेषज्ञ चिकित्सकहरुले शिविरबाट सेवा प्रदान गरेको बताइएको छ ।
यस्तै शिविर सञ्चालनकै समयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान समेत गरेको आयोजकले जनाएको छ ।
बैतडी पुख्र्यौली घर भई हाल कैलालीमा बस्दै आएका व्यक्तिहरुको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तरगत शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए । स्थानीयस्तरमै बिशेषज्ञ चिकित्सकहरुबाट सेवा पाएपछि नागरिकलाई सहज भएको उनले बताए ।
बृहत् स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. विद्याप्रसाद पन्त र डा. ओम प्रकाश पन्त, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नर बहादुर मौनी र डा. ज्ञानेन्द्र जोशी, जनरल फिजिसियन डा. चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट र नर्सिङ डाइरेक्टर मञ्जु केसी, युरो सर्जन डा. जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. जीवन बाँनिया, बाल रोग विशेषज्ञ डा. सुमन नेपाल, दन्त रोग विशेषज्ञ डा. सन्तोष पाण्डेय र डा. सङ्गीता पाण्डेय, मानसिक, मनोरोग तथा नशा रोग विशेषज्ञ डा. साजन खड्का, मनोविज्ञान परामर्शदाता डा. सुशील चटौत लगायतका चिकित्सकहरुको टोलीले सेवा प्रदान गरेको शिविरका संयोजक चन्दले बताए ।





