बैतडी –बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार दिउँसो १ बजेर १२ मिनेट जाँदा बाजुराको कुलदेवमाडौंआसपास केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले जानकारी दिए ।
यसअघि पनि बाजुराको बडिमालिका केन्द्र बिन्दु बनाएर भुकम्प गएको थियो । गत माघ १० गतेपछि बाजुरामा पटक–पटक भूकम्प गइरहेको तामाङले बताए । बाजुरामा लगातार भूकम्प जान थालेपछि स्थानीयहरु त्रसित बनेका छन् ।
सुदूरपश्चिम प्रदेशमा ७ महिनामा चार रेक्टर स्केलभन्दा माथिका १० वटा भूकम्प गइसकेका भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । गएको कात्तिक २२ गते खप्तडबाबाको आश्रम आसपास केन्द्रविन्दु भई भूकम्प गएयता चार रेक्टर स्केलका देशभर २६ वटा भूकम्प गएकोमा १४ वटाको केन्द्रविन्दु सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तामाङले बताए ।
नेपालको पश्चिमी क्षेत्र भूकम्पको उच्च जोखिममा रहेको भूकम्पविद्हरुले बताउँदै आएका छन् । यो क्षेत्रमा सन् १५०५ पछि ठूलो भूकम्प नगएकाले जमीनमुनि शक्ति सञ्चित रहेको तामाङले बताए । धेरै समयसम्म पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले यो क्षेत्र जोखिममा रहेको तामाङको भनाइ छ ।
सुदूरपश्चिम क्षेत्रमा भूकम्प प्रतिरोधी संरचना नभएका कारण ठूलो भूकम्प गएमा क्षति हुने आँकलन समेत गरिएको छ । अझै पनि भूकम्प प्रतिरोधी संरचना बन्न नसक्दा ठूलो भूकम्प गएको बेला क्षति हुन सक्ने तामाङले बताए ।





