Sagun Khabar
झुलाघाटमा बसपार्क नहुँदा पार्किङको समस्या 
फोटो :झुलाघाटमा बसपार्क नहुँदा सडकमै पार्किङ गरिएका जिप

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाटमा बसपार्क नहुँदा सवारी साधन पार्किङमा समस्या भएको छ । झुलाघाट सम्म सडक पुगेको भएपनि बसपार्क नहुँदा सवारी पार्किङमा निकै समस्या हुने गरेको चालक दानबहादुर क्षेत्रीले बताए । 

झुलाघाट बजारमा दैनिक सैयौं जिपहरु आवतजावत गर्ने भएपनि पार्किङको सुविधा नहुँदा सडकमै पार्किङ गर्नुपर्ने बाध्यता रही आएको क्षेत्रीले बताए । सडकमा सवारी साधन पार्किङले दुर्घटनाको जोखिम बढ्दै गएको स्थानीय व्यापारीहरुले बताएका छन् । 

झुलाघाट भारतसंग जोडिएको नाका भएकाले यो क्षेत्रमा बसपार्क निर्माण अनिवार्य भइसकेको स्थानीयहरुको भनाइ छ । यो नाकाबाट दैनिक सैयौं नागरिक आवतजावत गर्ने गरेका छन् । तर सवारी साधन पार्किङको सुविधा नहुँदा समस्या भएको स्थानीय व्यापारीहरुले बताएका छन् । 

झुलाघाटमा बसपार्क निर्माणका लागि पटक पटक आग्रह गरिएको भएपनि कसैले ध्यान दिन नसकेको स्थानीय व्यापारीहरुको गुनासो रहेको छ । 

केही दिन अघि मात्रै सुदूरपश्चिमका मुख्यमन्त्री झुलाघाट नाकामा पुग्दा स्थानीयहरुले बसपार्क निर्माणका लागि ध्यानाकर्षण समेत गराएका छन् । झुलाघाट नाका पुरानो नाका भएकाले यसलाई व्यवस्थित नाकाको रुपमा विकसित गर्न बसपार्क लगायतका संरचना निर्माण हुनुपर्ने स्थानीयहरुको माग रही आएको छ । 

बसपार्क नभएकै कारण सडकमै सवारी साधन पार्किङ गर्नुपर्ने बाध्यता रहेकाले समस्या समाधान हुनुपर्ने सवारी चालकहरुले पनि माग गरेका छन् । झुलाघाटमा बसपार्क नहुँदा साह्रै समस्या हुने गरेको दशरथचन्द नगरपालिका १ का प्रयागराज भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update