दार्चुला- जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको सोमवार शिलान्यास गरिएको छ । ११ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले शिलान्यास गर्नुभयाे । भवनको शिलान्यास गर्दै डीएसपी पाण्डेयले भवन निर्माणसँगै प्रहरी सङ्गठनले आफनो गुणस्तरीयतामा थप वृद्धि गर्ने बताए ।
पुरानाे भवन जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन बन्न लागेको हो । भवनको निर्माण १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको छ । भवन निर्माणको जिम्मा आसिस आलोक जोइन्ट भेन्चरले पाएको छ ।
नयाँ निर्माण हुने भवन तीन तलाको हुने छ । नयाँ बन्न लागेको भवनमा थुनुवा कक्ष, महिला पुरुष हिरासत कक्ष, बाल निगरानी कक्ष, ब्यारेक, कार्यालय प्रमुखको निवास, प्रहरीका आन्तरिक शाखाहरू निर्माण हुने डीएसपी पाण्डेयले बताए ।
नयाँ भवन निर्माण कार्य सुरु भएपछि ५१ जना प्रहरी जवान महाकाली नगरपालिकाले निर्माण गरेको आइसोलेशन भवन तथा बृहत् खानेपानी कार्यालयले निर्माण गरेका भवन (भौराबगड) क्षेत्रमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) गोविन्द भण्डारीको नेतृत्वमा बस्ने गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बाँकी प्रहरी अहिले कारागार तथा कोठा भाडामा लिएर बसिरहेका छन् । एकै पटक सबै संरचना भत्काएर सँगै निर्माण गर्नुपर्ने भएकाले व्यवस्थापनमा केही असजिलो भएको कार्यालयले जनाएको छ ।