बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा नयाँ बर्ष अर्थात बिसुको अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ । पाताल भुमेश्वर जागारण युवा मञ्चको आयोजनामा भलिबल प्रतियोगिताको आयोजना गर्ने तयारी भएको मञ्चका उपाध्यक्ष विनोद बिष्टले बताए ।
यही चैत ३० गतेका दिन सुर्नया गाउँपालिका २ स्थित नेपाल राष्ट्रिय मावि प्रांगणमा प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा भाग लिनका लागि सुर्नया गाउँपालिकाका ८ ओटैका वडाका टीमहरुलाई आग्रह गरिएको पाताल भुमेश्वर जागरण मञ्चका उपाध्यक्ष बिष्टले बताए । चैत २९ गतेभित्र टीम दर्ता गरिसक्नुपर्ने उनले बताए ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजारसहित कप र मेडल दिइनेछ भने दोश्रो हुनेलाई नगद ५ हजारसहित कप र मेडल प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा तेश्रो हुनेलाई नगद १ हजार ५ सयसहित मेडल र कप प्रदान गरिने बताइएको छ ।
यस्तै प्रतियोगितामा अनुशासित टीम, उत्कृष्ट खेलाडी लगायतलाई पनि पुरस्कृत गरिने बिष्टले बताए । प्रतियोगितामा सहभागी हुने टीमका लागि दर्ता शुल्क एक हजार ५ सय तोकिएको छ ।
प्रवासमा रहेका सुर्नयाका युवाहरुले गठन गरेको पाताल भुमेश्वर जागरण मञ्चले हरेक बर्ष विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यसअघि पातल भुवनेश्वर धाम जाने बाटोमा मञ्चले गेट समेत निर्माण गरेको थियो । प्रवासबाटै आफूहरुले मातृभूमीको लागि काम गरिरहेको मञ्चका उपाध्यक्ष बिष्टले बताए ।