Sagun Khabar
दार्चुलामा महाकालीबाट हुन सक्ने क्षति रोक्न नदी नियन्त्रण आयोजना सक्रिय 

दार्चुला –दार्चुलामा महाकाली नदीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि नदी नियन्त्रण आयोजना काम गरिरहेको छ । आइतबार सम्म लगातार परेको पानीले महाकालीमा बाढी आएपछि आयोजनाले क्षति न्यूनीकरणका लागि काम गरेको हो । 

निर्माणाधिन तटबन्ध क्षेत्रमा पानी पसेर क्षति हुन सक्ने भन्दै आयोजनाले खटेर काम गरेको महाकाली नदी नियन्त्रण आयोजनाका प्रमुख शोभाकर पौडेलले बताए । महाकालीको पानी पस्न सक्ने सम्भावित ठाउँमा बालुवा राखेर रोकेको उनले बताए । 

Atrya hospital

आजदेखि महाकालीमा पानीको बहाव पनि कम हुँदै गएपछि बाढी पस्ने जोखिम कम भएको बताइएको छ । अहिलेसम्मको अवस्थामा नदीले बगाउने र तटबन्ध भत्काउन सक्ने अवस्था नरहेको आयोजना प्रमुख पौडेलले बताए । 

सदरमुकाम खलङ्गाको साढे चार किलोमिटर क्षेत्रफलमा पक्की तटबन्ध बनाइएको छ । विसं २०७० असारमा आएको बाढीपछि तटबन्ध निर्माण गरिएको हो। तीन अर्ब पाँच करोड लागतमा रेटलिङसहितका तटबन्ध निर्माण भएपछि तीन टुक्रामा विभाजित भएको खलङ्गा बजार अहिले सुरक्षित छ । सो तटबन्धका कारण सदरमुकाम खलङ्गामा अहिलेको बाढीले असर गर्न नसकेको आयोजना प्रमुख पौडेलले बताए ।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update