बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरमा लागेको अनन्त चतुर्दशी जात्रामा भक्तजनहरुका लागि एक जना युवा समाजसेवीले निशुल्क गाडीको व्यवस्था गरेका छन् ।
जिल्लाको दशरथचन्द नगरपालिका–४ विनासौंका युवा समाजसेवी एस.पी. भट्टले भक्तजनहरुका लागि निशुल्क गाडीको व्यवस्था गरेका हुन् । गोठलापानी, जोशीबुङ्गा र सतबाँझबाट देहीमाण्डौंसम्मका लागि निशुल्क तीनओटा गाडी सञ्चालन गरिएको भट्टले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता समेत रहेका भट्टले सामाजिक उत्तरदायित्व अन्तर्गत आफूले दर्शनार्थीहरुका लागि उक्त व्यवस्था गरेको जनाएका छन् । निशुल्क गाडीको व्यवस्था भएपछि दर्शनार्थीहरुलाई समेत सहज भएको छ ।
यसअघि उनले त्रिपुरासुन्दरी जात्रामा समेत भक्तजनहरुका लागि निशुल्क बसको व्यवस्था गरेका थिए ।




