दार्चुला –दार्चुलाको अपि हिमाल गाउँपालिकाले स्थानीय जौंबाट बिस्कुट बनाउने तालिम दिएको छ । स्थानीय १० जना उद्यमी महिलाहरुलाई बिस्कुट बनाउने सात दिने तालिम दिएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए ।
दुई महिना अघि व्यवसाय छनौट तालिम प्राप्त गरेका महिलाहरुलाई सीपमूलक तालिम दिइएको अध्यक्ष बोहराले बताए । यो तालिमपछि उद्यमशीलतामा नयाँ आयाम थपिएको अध्यक्ष बोहराले बताए ।
बिस्कुट बनाउने तालिम लिएका महिलाहरुलाई उद्योग सञ्चालनका लागि गाउँपालिकाले उपकरण, मेसिन खरीदमा समेत सहयोग गर्ने जनाएको छ । स्थानीयस्तरमै रोजगारीको सिर्जना गर्ने र स्थानीय उत्पादनलाई बढावा दिने उद्देश्यसहित तालिम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष देवकी बोहराले बताइन् ।
तालिमका सहभागी महिलाहरुले आफूहरुलाई उद्यमतिर लाग्नका लागि सहज भएको बताएका छन् । गाउँपालिकाको सहयोगमा आफूहरुले स्थानीय जौंबाट बिस्कुट बनाउने समेत उनीहरुले बताएका छन् ।
स्थानीयहरुले उत्पादन गरेको बिस्कुटको बजारीकरणमा समेत पालिकाले सहयोग गर्ने अध्यक्ष बोहराले बताए ।