काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान राेयल्सले सनराइजर्स हैदराबादलाई हराएकाे छ । आज आइतवार भएकाे पहिलाे खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले हरायाे ।
राजस्थानले दिएकाे २ सय ४ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बाेल्टले २ विकेट लिए ।
यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।
याे जितसँगै राजस्थान २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । हैदराबाद तालिकाकाे पुछारमा छ ।