Sagun Khabar
विकासको बाटोमा तल्लो स्वराड 

बैतडी –बैतडीको दुर्गम भनेर चिनिने तल्लो स्वराड क्षेत्रमा पछिल्लो समयमा विकासले फड्को मार्दै गएको छ । पाटन –पञ्चेश्वर सडक सुचारु भएसंगै तल्लोस्वराड क्षेत्र विकासको बाटोमा लम्किएको स्थानीय सुरत नेगीले बताए । पाटन –पञ्चेश्वर सडक पुगेसंगै स्वराडीको जीवनमा परिवर्तन आएको उनको भनाइ छ । उनले भने ‘सडक नहुँदा यो क्षेत्रमा धेरै समस्या रहेको थियो । अहिले सडक पुगेपछि निकै सजिलो भएको छ ।’

पाटन पञ्चेश्वर सडकको मेलौली सम्म कालोपत्रेको काम अन्तिम चरणमा पुगिसकेको छ भने मेलौलीदेखि पञ्चेश्वर सम्मको सडकखण्डमा पनि कालोपत्रेको काम भइरहेको छ । सडक नियमित रुपमा सुचारु भएपछि अहिले तल्लोस्वराड क्षेत्रमा सहज भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताए । उनले भने ‘पहिलाको तुलनामा धेरै विकास भएको छ । सडक सञ्जाल जोडिएसंगै नागरिकको जीवनशैलीमा परिवर्तन आएको छ ।’

Atrya hospital

पाटन–पञ्चेश्वर सडक तल्लोस्वराड क्षेत्रको ‘लाइफलाइन’को रुपमा रहेको स्थानीय चिन्तामणी भट्टले बताए । यो क्षेत्रमा सडक पुगेपछि निकै सहज भएको उनले बताए । उनले भने ‘सडक नहुँदा सम्म हरेक क्षेत्रमा समस्या थियो । सडक पुगेपछि सहज भएको छ ।’

तल्लोस्वराड क्षेत्रमा सडक नपुग्दा सम्म बजारमा भारतीय सामग्री मात्रै पाइने गर्दथ्यो । अहिले सडक पुगेपछि बजार नेपाली सामग्री पुग्ने गरेको भट्टले बताए । उनले भने ‘सडक पुगेसंगै बजारमा नेपाली सामग्रीको पहुँच भएको छ । भारतमाथिको परनिर्भरता पनि घटेको छ ।’

तल्लोस्वराड क्षेत्रमा सडक पुगेसंगै सदरमुकामसंगको सम्पर्क समेत जोडिएको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । पहिला –पहिला भारतको बाटो भएर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेकोमा पछिल्लो समयमा त्यो बाध्यता हटेको उनले बताए । उनले भने ‘तल्लोस्वराड सडक सञ्जालमा जोडिएपछि धेरै कुराको सहजता भएको छ । समान्य सामग्रीका लागि सीमावर्ती भारतीय बजारको भर पर्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।’

समान्य उपचारका लागि भारतीय अस्पतालमा पुग्नुपर्ने स्वराडबासीहरुलाई अहिले सडक पुगेपछि निकै सहज भएको पञ्चेश्वरकी गोदावरी चन्दले बताइन् । सडक पुगेपछि उपचारका लागि अस्पताल जान समेत सहज भएको उनको भनाइ छ । 

सडक पुगेसंगै विकासका अन्य पूर्वाधार पनि निर्माण भइरहेका स्थानीय बिजयसिंह नायकले बताए । सडक पुगेपछि विकासका अन्य पूर्वाधारमा समेत स्थानीयहरुको पहुँच पुगेको उनको भनाइ छ । उनले भने ‘अहिले सडक पुगेपछि ठाउँठाउँमा बजार समेत विस्तार भएका छन् ।’
 

प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १०:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update