बैतडी- गृह मन्त्रालयल दार्चुलाको नयाँ सीडिओमा किरण जोशीलाई पठाएको छ । गृह मन्त्रालयले हिजो बिहीबार गरेको निर्णयअनुसार जोशीलाई शुक्रबार दार्चुला सरुवा गरेर पठाएको हो । जोशी सुदूरपश्चिमकै पहिलो महिला सीडिओ बन्न सफल हुनुभएको छ ।
जोशी सुदूरपश्चिमबाट खुला प्रतिस्पर्धाबाट उपसचिव पदमा नाम निकाल्नुभएको पहिलो महिला हुनुुहुन्छ । कञ्चनपूरमा जन्मनुभएका जोशी यसअघि डोटीको सहायक सीडिओ भएर गृह प्रशासनको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । जोशी जनप्रशासन विषयमा स्नातकोत्तर र कानुनमा स्नातक हुनुहुन्छ ।
उहाँले लोकसेवासम्बन्धी पुस्तकसमेत लेख्नुभएको छ । हालसम्म खरिदार, उपसचिव र सहसचिव स्तरको लोकसेवा तयारीका पुस्तक लेखेको उहाँले बताउनुभयो । निजामति सेवामै रहनुभएका उहाँले श्रीमान सिद्धराज जोशीसँगको सहकार्यमा पुस्तक लेख्नुभएको हो । सिद्धराज जोशी यसअघि बैतडी, दार्चुलाको सीडिओ भइसक्नुभएको छ ।