Sagun Khabar
प्रदेश गौरवको सतबाँझ–श्रीभावर सडक धमाधम कालोपत्रे हुँदै 

बैतडी –बैतडीमा प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकको स्तरोन्नति गर्ने कार्य अन्तर्गत कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ । प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकको सतबाँझदेखि साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे ८  किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम भइरहेको हो । 

चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरेर काम गरिरहेको पूर्वाधार विकास कार्यालय बैतडीका निमित्त प्रमुख जंगबहादुर थापाले बताए । अहिले सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रे गर्ने गरेर काम भइरहेको उनले बताए । सो खण्डमा अहिले फस्ट कोड हाल्ने काम भइरहेको थापाले बताए । आगामी जेठभित्र ६ किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्य लिइएको उनले बताए । उनले भने ‘अहिले सतबाँझ–श्रीभावर सडकको सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रेको काम अघि बढेको छ । जेठ सम्म ६ किलोमिटर कालोपत्रे गर्ने गरेर हामीले काम गरिरहेका छौं ।’

यस्तै श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका ठेक्का भए बमोजीम काम भइरहेको छ । जेठ मसान्तभित्र सो खण्ड पनि कालोपत्रे गरिसक्ने लक्ष्य रहेको थापाले बताए । 

Atrya hospital

सतबाँझ श्रीभावर सडक कालोपत्रेको काम शुरु भएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । लामो समयपछि सतबाँझ श्रीभावर सडकले साथर्कता पाएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । बैतडी सदरमुकाम जोड्ने छोटो बाटोको रुपमा रहेको सतबाँझ श्रीभावर सडकमा कालोपत्रेको काम शुरु भएपछि निकै खुसी लागेको स्थानीय केशवराज भट्टले बताए । उनले भने ‘यो सडक कालोपत्रे भएपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाका नागरिकलाई बढी फाइदा हुनेछ । यसका साथै बझाङका नागरिकलाई समेत यो सडकले सहजता ल्याउनेछ ।’

सतबाँझ–श्रीभावर–हाट –दार्चुला सडकका नामले यसलाई प्रदेश गौरवको योजनामा समावेश गरिएको पूर्वाधार विकास कार्यालयका निमित्त प्रमुख थापाले बताए । सडकलाई स्तरोन्नतिका लागि ठेक्का सम्झौता अनुसार काम भइरहेको उनले दाबी गरे । 

दुई दशकपछि सडक निर्माणले गति लिँदै  

आर्थिक बर्ष २०५५÷५६ सालमा सतबाँझ श्रीभावर सडकको शिलान्यास गरिएको थियो । सडक शिलान्यास गरेको दुई दशक बढी भइसकेपछि बल्ल सडक निर्माणले गति लिएको छ । सडक शिलान्यास गर्ने बेला बढीमा ५ बर्षमा सडक निर्माण भइसक्ने लक्ष्य राखिएको थियो । तर सडक निर्माण शुरु भएको २४ बर्ष बितिसक्दा बल्ल सडक निर्माणले गति लिन थालेको छ । 

बैतडी सदरमुकाम जोड्ने छोटो बाटोको रुपमा सो सडक निर्माण कार्य शुरु गरिएको भएपनि लामो समयसम्म केन्द्रीय योजना नपर्दा सडक निर्माणले गति लिन नसकेको जिल्ला विकास समिति बैतडीका पूर्व सभापति परमानन्द भट्टले बताए । 

सतबाँझ–श्रीभावर सडकले पूर्णता पाएमा भारतसंग सीमा जोडिएको झुलाघाट पुग्ने छोटो बाटोको रुपमा सञ्चालन हुने पूर्व जिविस सभापति भट्टको भनाइ छ । उनले भने ‘पहिला सडक निर्माण नहुँदा सम्म पैदल मार्ग पनि यही हो । अब यो सडक निर्माण भएपछि घुमेर बैतडी सदरमुकाम पुग्ने बाध्यताको अन्त्य हुनेछ । यसलाई समयमै सम्पन्न गर्नका लागि राजनैतिक नेतृत्व लाग्नुपर्ने हुन्छ ।’

सतबाँझ –श्रीभावर सडक निर्माणले गति लिएमा चारघण्टा पैदल हिडेर सुर्नया गाउँपालिकाको केन्द्रमा पुग्ने स्थानीयबासीको बाध्यता पनि अन्त्य हुनेछ । ‘अहिले गाउँपालिकाको वडा नं ७ र ८ का बासिन्दालाई गाउँपालिकाको केन्द्रमा पुग्न चारघण्टा जति हिड्नुपर्ने हुन्छ । यो सडक निर्माण भएपछि हाम्रो बाध्यता हट्नेछ ।’सुर्नया ८ का बीरबहादुर बोहराले भने 

करीब दुईदशक अघि निर्माण कार्य थालनि गरिएको सडक अब भने चाँडो सम्पन्न गर्नुपर्नेमा स्थानीयबासीले जोड दिएका छन् । ‘सडक गाउँठाउँको समृद्धिसंग जोडिएको चीज हो । सडक विस्तार भएमात्रै यो क्षेत्रका कृषि उपजहरुले बजार पाउँछन् । किसानहरुको पनि आयआर्जनमा वृद्धि हुन सक्छ ।’सुर्नया ५ का रामसिंह बिष्टले भने, ‘अहिले सम्म सडक निर्माणमा ठगिएका छौं । अब यसलाई अन्तिम बिन्दु सम्म पुर्याउन जनप्रतिनिधिहरुले पनि पहल गर्नुपर्छ ।’
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update