बैतडी- क्रिकेटर दीपक बोहरालाई गृह जिल्ला बैतडीमा सम्मान गरिएको छ । नेपाली क्रिकेट टोलीलाई विश्वकपमा पुर्याउन सफल भएका बोहरालाई शनिबार गृह जिल्लामा सम्मान गरिएको हो ।
हालै युएईमा सम्पन्न एसिया छनौटमा अपराजित रहदैं च्याम्पियन बनेको नेपाल सन २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनौंट भएको थियो । उक्त नेपाली टोलीका सदस्य बोहरा पनि रहेका थिए । छनौट प्रतियोगितामा सहभागी भएर पहिलोपटक गृहजिल्ला बैतडी पुगेका दशरथचन्द नगरपालिका २ देहिमाडौं घरभएका दीपकलाई सम्मान गरिएको निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमीका अध्यक्ष दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
बोहरालाई बैतडीस्थित निंग्लाशैनी ग्वाल्लेक क्रिकेट एकेडेमी तथा निंग्लाशैनी क्रिकेट क्लब,देहिमाडौंले सम्मान गरेको उनले बताए । दीपकलाई खादा,अविर र प्रमाणपत्रसहित सम्मान गरिएको निंग्लाशैनी क्रिकेट क्लबका कोषाध्यक्ष डीलाईट बोहराले बताए । युएईमा बोहरा ३ खेल खेलेका थिए । पहिलो खेलमा सिंगापुरविरुद्ध १७,दोस्रोमा कुवेतविरुद्ध १९ रन र तेस्रोमा हङकङसंगको खेलमा ब्याटिंगमा पालो पुगेको थिएन् ।
नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । विश्वकपमा छनोट भएको उक्त टोलीका सदस्यलाई नेपाल क्रिकेट संघ क्यानले जनही एक लाख रुपैँयाको पुरस्कार दिने घोषणा समेत गरेको छ ।