दार्चुला –चीनसंग सीमा जोडिएको दार्चुलाको टिंकर नाका सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । सदियौंदेखि चीनको ताक्लाकोट सम्म व्यापार व्यवसाय हुँदै आएकोमा टिंकर नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएकाले व्याँस गाउँपालिकाले नाका खोल्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दार्चुला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई पठाएको ज्ञापन पत्रमा कोरोना महामारीदेखि बन्द भएको नाका सञ्चालनका लागि आग्रह गरिएको छ ।
चीनसंग जोडिएका रसुवागढी, हिल्सा लगायतका नाका खोल्ने तयारी भएपनि टिंकर नाका सञ्चालनका बिषयमा अहिले सम्म ठोस पहल हुन सकेको छैन् । यो नाका सञ्चालन हुँदा स्थानीयहरुको जिविकोपार्जनमा समेत समस्या परिरहेको व्याँस गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले बताए ।
टिंकर नाकाबाट लामो समयदेखि व्यापार व्यवसाय हुँदै आएको भएपनि कोरोना महामारीपछि यो नाका बन्द अवस्थामा रहेको छ । नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराएको उपाध्यक्ष कुँवरले बताए ।
गाउँपालिका अध्यक्ष मंगलसिंह धामीको नेतृत्वमा बुझाएको ज्ञापन पत्रमा दार्चुला –टिंकर सडकखण्ड निर्माण कार्यलाई समेत प्राथमिकतामा राख्नुपर्ने जोड दिइएको छ । सो सडकखण्ड सञ्चालनका लागि पार्याप्त बजेट छुट्याउनका लागि आग्रह गरिएको छ ।