Sagun Khabar
लगातारको बर्षाले बैतडीका ग्रामीण सडक अवरुद्ध 
फोटो : अवरुद्ध भएको ढोल्यामोड कठमडा सडक, तस्बिर : सुरेश महरा

बैतडी –लगातारको बर्षाका कारण बैतडीका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । बर्षाका कारण सडकहरुमा पहिरो खस्नुका साथै हिलाम्य भएको हुनाले सवारी साधन सञ्चालनमा आउन नसकेका बताइएको छ । जिल्लाको सतबाँझ– सुर्नया सडक लगातारको बर्षाले अवरुद्ध भएको सतबाँझ प्रहरीचौकीले जनाएको छ । 

सो सडकको एकदुई ठाउँमा माटो जमा भएर गाडी निस्कने अवस्था नरहेको सतबाँझ प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक उपेन्द्र तिमल्सिनाले जानकारी दिए । उनले भने ‘सतबाँझ –सुर्नया सडक स्तरोन्नतीको काम भईरहेको छ । त्यो बेला जमा भएको माटो बगाउँदा सडक अवरुद्ध भएको छ । लगातारको बर्षाले सडक हिमाल्य हुँदा गाडी चलाउन मिल्ने अवस्था छैन् ।’

Atrya hospital

यस्तै ढोल्यामोडदेखि सुर्नया गाउँपालिका वडा नं ८ को कार्यालय जोड्ने सडक र बाचपानी देखि कठमडा जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री समेत बोकेर ल्याउनुपर्ने बाध्यता रही आएको स्थानीय संगीता बोहराले बताइन् । उनले भनिन् ‘लगातारको बर्षाले सडक विभिन्न ठाउँमा पहिरो खसेको छ । पहिरोका कारण सडकमा गाडी आवतजावत बन्द भएको छ । दैनिक उपभोग्य सामग्री पनि पिठ्युमा बोकेर ल्याउनुपर्ने बाध्यता रही आएको छ ।’

यस्तै ढोल्यामोडदेखि पुर्चौंडी जोड्ने सडक पनि पहिरोका कारण अवरुद्ध भएको ढोल्यामोड प्रहरीचौकीले जनाएको छ । लगातारको बर्षाले सडकका विभिन्न स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको हो । ‘ढोल्यामोड हाट सडकको एकदुई ठाउँमा पहिरो खसेको छ । बर्षाले सडकभरी हिलो छ । त्यसैले अहिले गाडी सञ्चालन भएका छैनन् ।’ढोल्यामोड प्रहरीचौकीका प्रमुख गल्फे धमेनाले भने, ‘विभिन्न खाद्यान्न सामग्री बोकेर आएका गाडी ढोल्यामोडमै रोकिएका छन् ।’
यस्तै मेलौलीदेखि पञ्चेश्वर सम्मको सडक पनि अवरुद्ध भएको छ । बर्षाका कारण सडकका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको स्थानीय केशवसिंह भाटले जानकारी दिए । उनले भने ‘पाटन –पञ्चेश्वर सडकको मेलौलीदेखि पञ्चेश्वर खण्डमा समस्या छ । प्रत्येक बर्ष बर्षातमा सडक अवरुद्ध हुने गरेको छ ।’

यस्तै देहीमाण्डौं–गिरेगडा सडक पनि अवरुद्ध भएको छ । सो सडकको तालकुल्ला भन्ने स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध भएको बताइएको छ । पाटन –सकार –कैलपाल सडक, धर्मघर –सनशेरीमाण्डौं सडक, देहीमाण्डौं–दुर्गाभवानी सडक, देहीमाण्डौं –सुरकाल सडक लगातारको बर्षाका कारण अवरुद्ध भएका छन् । 

कच्ची सडकहरुमा बर्षातको समयमा पहिरो खस्ने भएकाले प्रत्येक बर्ष अवरुद्ध हुँदै आएका छन् । सञ्चालनमा रहेका कच्ची सडकहरुमा गाडी चलाउन निकै मुस्कील भएको यातायात व्यवसायीहरुले बताएका छन् । जिल्लाका ग्रामीण कच्ची सडक अवरुद्ध हुँदा स्थानीयहरुलाई दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ भने आकस्मिक कामका लागि जानुपर्नेहरुलाई समेत समस्या भएको छ ।

 जिल्लामा खनिएका कच्ची सडकहरु प्रायः जसो असोजको महिना सम्म अवरुद्ध हुने गरेका छन् । बर्षाका कारण सडकहरुमा बेलाबेलामा पहिरो खस्ने भएकाले कच्ची सडकहरु अवरुद्ध हुने गरेका प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update