Sagun Khabar
सर्वोच्चले सन्दीपलाई दिएन विदेश जाने अनुमति, अर्को पेशी आइतबार

काठमाण्डौं –सर्वोच्च अदालतले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेलाई विदेश जान अनुमति दिन अस्विकार गरेको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले शुक्रबार लामिछानेको पुनरावेदन निवेदनको सुनुवाइ गर्दै भोलि नै विदेश जान अनुमति नदिएको हो ।  सर्वोच्चका प्रवक्ता विमल पौडेलले अर्को मुद्दालाई पनि साथै राखेर आइतबार पेस गर्न इजलासबाट आदेश भएको बताए । 

Atrya hospital

नाबालिग बलात्कार अभियोग लागेका लामिछानेलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा छाडेको थियो । उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । 
उच्च अदालतको आदेश बदर गर्न भन्दै महान्यायाधिवक्ता कार्यालयले दिएको निवेदनमा पनि शुक्रबार नै पेशी तोकिएको थियो । न्यायाधीश प्रकाश ढुंगाना र हरि फुयालको संयुक्त इजलासमा परेको मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । अब दुबै मुद्दाको आइतबार सँगै सुनुवाई हुनेछ ।

लामिछानेले आफूलाई क्रिकेट खेल्न विदेश जान दिनुपर्ने माग गरी सर्वोच्च अदालतमा निवेदन दिएका थिए । 
आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई र पिएनजीविरूद्धको एकदिवसीय श्रृंखलाका लागि नेपाली टिम शनिबार युएई जाँदैछ । अदालतले अनुमति दिएको भए उनलाई पनि लैजाने क्यानको तयारी थियो । तर अदालतले अर्को पेशी आइतबार तोकेकाले उनी शनिबार विदेश जान नपाउने भएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १२, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update