Sagun Khabar
सडकको पहुँच भएसंगै बैतडीको सुर्नयामा बजार बिस्तार हुँदै 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाको केन्द्र आसपासमा बजार बिस्तार हुन थालेको छ । सडक पनि पुगेकाले पक्की संरचनाहरु निर्माण भइरहेको सुर्नया गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष केशव बिष्टले बताए । गाउँमा सडक पुगेसंगै बजार विस्तार हुन थालेको उनले बताए । 

यसका साथै गाउँपालिकाको केन्द्र नजिक पनि बजार विस्तार हुन थालेको छ । गाउँपालिकाको केन्द्रमा मानिसहरुको आवतजावत बढी हुन थालेपछि बजार विस्तार हुन थालेका स्थानीय नवराज मडैले बताए । उनले भने ‘संघीयता आएपछि गाउँपालिकाको केन्द्र आसपासमा बजार बढ्दै गएको छ । मानिसहरुको आवतजावत पनि बढेको छ ।’

Atrya hospital

बजार विस्तारसंगै खेतीयोग्य जमीन पनि घरेडीको रुपमा विक्रि हुन थालेको छ । बजार विस्तारले व्यापार व्यवसायमा केही बढावा भएपनि खेतीयोग्य जमीन भने मासिदै गएको स्थानीय भानबहादुर बिष्टले बताए । उनले भने ‘गाउँपालिकाको केन्द्र नजिक भएको खेतीयोग्य जमीन घरेडीमा विक्रि हुन थालेको छ ।’

सडक पुगेसंगै धेरै कुरामा सहज भएपनि स्थानीय उत्पादनमा अझै बढाउन सकिएको छैन् । तर सडकको पहुँचले धेरै कुरामा सहज भएको स्थानीय लक्ष्मी बिष्टले बताइन् । उनले भनिन् ‘सडक पुगेपछि आवतजावतमा सहज भएको छ । बजारबाट ल्याउने सामग्री ल्याउन पनि सहज भएको छ ।’

सतबाँझ–श्रीभावर सडकलाई प्रदेश सरकारले प्रदेश गौरवको आयोजनामा राखेपछि अहिले सो सडक कालोपत्रेको काम भइरहेको छ । सडक कालोपत्रे भएपछि यातायातमा झन् सहज हुने स्थानीय हरिश बिष्टले बताए । उनले भने ‘सतबाँझ –श्रीभावर सडक कालोपत्रे भएपछि सुर्नयाको मुकाम सम्म आवतजावत निकै सहज हुनेछ । यसले नागरिकलाई पनि सजिलो हुनेछ ।’

सडकको विस्तारसंगै किसानहरुले उत्पादन गरेको तरकारीलाई बजारमा पुर्याउन सहज हुने गरेको छ । तर व्यवसायिक रुपमा तरकारी खेती गर्नेहरुको संख्या अझै पनि कमै रहेको छ । स्थानीय बजारमा समेत तरकारीको माग रहेको छ । तर स्थानीय उत्पादन नहुँदा तराइको तरकारी बजारमा पुग्ने गरेको स्थानीय हिक्मत बिष्टले बताए । उनले भने ‘बजार विस्तार भएसंगै तरकारीको माग समेत बढेको छ । तर स्थानीय उत्पादन नहुँदा बाहिरबाट तरकारी ल्याउनुपरीरहेको छ ।’

गाउँपालिकाको सतबाँझ र मोतीनगरबाट सञ्चालनमा रहेका सडकलाई छिट्टै स्तरोन्नती गरेर कृषि क्षेत्रमा लगानि बढाउने गाउँपालिकाको योजना रहेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । उनले भने ‘हामीले अहिले सडक स्तरोन्नतीको काम गरिरहेका छौं । बजार विस्तार भएसंगै कृषि क्षेत्रलाई प्राथमिकता दिने खालका योजनाहरु बनाउने प्रयासमा छौं ।’

सुर्नयाको विकास र समृद्धिलाई टेवा पुग्ने खालका कार्यक्रम कार्यान्वयनमा गाउँपालिकाले जोड दिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए । 
 

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १२:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update