काठमाण्डौं –उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समृद्धिको यात्रामा निजी क्षेत्रलाई अगाडि बढाउन जरुरी रहेको बताएका छन् ।
नेपाल मुद्रण उद्योग महासङ्घको नवौँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले निजी क्षेत्रसँग हातेमालो नगरी आर्थिक समृद्धि हुन नसक्ने बताए । उनले आर्थिक क्षेत्रमा देखिएका राष्ट्रिय समस्या समाधानका लागि नयाँ कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उहाँले उद्योग सम्बद्ध कानुनको पुनरावलोकन गरिने उल्लेख गर्दै उद्योग मन्त्रालयबाट औद्योगिक ग्राम सञ्चालनमा ल्याउने कार्य लगातार अघि बढिरहेको जानकारी गराए । साथै उनले युवा उद्यमीलाई सहजीकरण गर्न सरकारले छरिएर रहेका कोषलाई एकीकृत गरेर कार्यान्वयनमा ल्याउने बताए ।
मन्त्री भण्डारीले १५औँ योजना र वार्षिक बजेट बमोजिमका लक्ष्यअनुरूप उद्योग क्षेत्रमा कूल गार्हस्थ्य उत्पादनमा योगदान बढाउनका लागि पनि हरेक क्षेत्रमा औद्योगिक विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।
मुद्रण व्यवसायीका संस्थागत रूपमा आएका कुरामा सरकार सकारात्मक भएर सहायता गर्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले राज्यका सीमा र परिधिभित्र रहेर मुद्रण व्यवसायीका माग प्राथमिकताका साथ पूरा गर्न सरकार तयार रहेको बताए ।
साधारण सभामा मुद्रण उद्योग महासङ्घका अध्यक्ष खोमकान्त रेग्मीले छापाखानासम्बन्धी नयाँ ऐनको निर्माण गर्नुपर्ने, मुद्रण उद्योगलाई वित्तीय संस्थाहरूबाट सहुलियत ब्याजदरमा ऋण सुविधा उपलब्ध गराइनुपर्ने, सरकारी छापाखानालाई एकद्वार प्रणालीबाट चलाउनुपर्ने लगायतका १९ बुँदे मागहरू प्रस्तुत गरेका थिए ।