Sagun Khabar
नेपाली किशोरीलाई ‘बलि’ चढाउन भारत लगेको आशंकामा ६ जना पक्राउ

काठमाण्डौ – मानव बेचबिखन अनुसन्धान ब्युरोले बलि दिन नेपालबाट भारत पुर्याइएको आशङ्कामा एक १६ वर्षीया किशोरीको उद्धार गरेको छ । ब्युरोको पहलमा भारतको दिल्लीमा रहेको मङ्गलबजार गल्लीबाट यही मङ्गलवार किशोरीको उद्धार गरिएको हो । उद्धारपछि किशोरीलाई एक सामाजिक संस्थाको जिम्मेवारीमा  राखिएको छ । 

ब्युरोले आज पत्रकार सम्मेलन गरी किशोरीको उद्धारबारे जानकारी दिएको हो । ‘किशोरीलाई तान्त्रिक बाबासँग भेटाइ तान्त्रिक बाबा खुसी भएमा अथाहा पैसा पाउने भनिएको रहेछ । भारत लैजानुअघि उनको तौल, उचाइ, शरीरमा दाग, ट्याटु र रजस्वला भए÷नभएको परीक्षण गरिएको रहेछ’, ब्युरो निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।

Atrya hospital

उनलाई भारत लैजानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा ट्याटु नभएको, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको किशोरीको खोजी हुने क्रममा उनलाई भेटाइएको अभियुक्तहरुले जानकारी दिएको प्रहरीको भनाइ छ । 

निर्देशक श्रेष्ठले किशोरी भने यसबारे जानकार नभएको बताए । उनले भने ‘हामी दुई महिनादेखि किशोरीको खोजी अनुसन्धानमा जुटेका थियौँ । दुई दिनअघि पाएको सूचनाका आधारमा किशोरीको उद्धार गरिएको हो ।’

पीडित किशोरी मङ्सिर १७ गते मामाघरबाट काठमाण्डौ ल्याइएको थियो । पुस १९ गतेसम्म काठमाण्डौमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते उनलाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीमा रहेको पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ । 

भारत पु¥याएपछि भारतका विभिन्न तीन ठाउँमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको प्रहरीको भनाइ छ । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन् । ती किशोरीलाई प्रलोभन देखाउनेमा किशोरीको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ । 

अहिले प्रहरीले यस घटनामा संलग्न छ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले जानकारी दिए । प्रहरीको तथ्याङ्कअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघ महिनामा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update