 
                                                                    बैतडी-बैतडीमा माविस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका ६ मा यहि माघ ८ गतेबाट माविस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।
दशरथचन्द नगरपालिका ६ थालिगडा स्थित कालिका माविको आयोजना तथा श्री गगनचन्द डिभाइन फाउण्डेसनको प्रायोजनमा जिल्लामा माविस्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक गोविन्द राज जोशीले जानकारी दिए ।
कालिका माविको ७३औँ वार्षिकोत्सवको उपलक्ष्यमा श्री गगनचन्द डिभाइन फाउण्डेसनको सहयोगमा प्रतियोगिता हुन लागेको उनले बताए । ‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद, गाउँका लागि खेलकुद’ भन्ने नाराका साथ विद्यार्थीको राष्ट्रिय खेल प्रति रुची बढाउन प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।
यस्तै भलिवल प्रतियोगितामा उचित पुरस्कारको समेत व्यवस्था रहेको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ५१ हजार, शिल्ड र प्रमाण पत्र, द्धितियलाई नगद ३१ हजार, शिल्ड र प्रमाण पत्र र तृतिय स्थान हाशिल गर्ने टिमलाई २१ हजार शिल्ड र प्रमाण पत्र प्रदान गरिने गगनचन्द डिभाइन फाउण्डेसनका संयोजक जोशीले बताए । यस्तै चौथो हुने टिमलाई प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।
प्रतियोगितामा सहभागिताका लागि पनि आयोजकले अनुरोध गरेको छ । टिम बनाएर प्रतियोगितामा सहभागिता जनाउन विद्यालयहरुलाइ अनुरोध गरिएको हो । खेलमा सहभागिहुने विद्यालयले माघ ६ गते विद्यालय समय भित्र टिम दर्ता गराइसक्नु पर्नेछ ।
आफ्ना बुवा गगन चन्दको स्मृतीमा गठन गरेको सामाजिक संस्था गगन चन्द डिभाईन फाउण्डेसनका संस्थापक अध्यक्ष दान बहादुर चन्दको सहयोगमा कालिका माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोहमा प्रत्येक वर्ष भलिवल प्रतियोगिताका लागी प्रायोजन हुँदै आएको छ ।
श्री गगनचन्द डिभाइन फाउण्डेसन सामाजिक संस्था हो । दशरथचन्द नगरपालिका सिमायलमा रहेको यो संस्थाले विभिन्न सामाजिक कामका साथै खेलकुद प्रतियोगिता गर्दै आएको छ ।





 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    