 
                                                                    काठमाण्डाै- प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित निकालेको छ। सोमबार भएको समूह ‘ए’ को खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो।
६१ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुदूरपश्चिमले ११ ओभरमा मात्र एक विकेटको क्षतिमा लक्ष्य भेट्टायो। सुदूरपश्चिमकी कप्तान विन्दु रावलले अविजित ४६ रन बनाइन्। त्यस्तै, शोभा रोकायले ८ र यशोदा विष्टले दुई रन बनाए।
बलिङतर्फ गण्डकीकी निरुता जिटीले एक विकेट लिइन्। इटहरीको जनता पार्कमा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ६० रन मात्रै बनाएको थियो।
गण्डकीकी सिमना केसीले मात्रै दोहोरो अंक बनाइन्। उनले १३ रन बनाइ्न। गण्डकीका ९ जना ब्याटरले दोहोरो अंक पनि बनाउन नसकी आउट भए। सुदूरपश्चिमकी मनिषा चौधरीले चार विकेट लिइन्।
सुदूरपश्चिमको यो दोस्रो जित हो। यसअघि सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा बागमती प्रदेशलाई ३३ रनले पराजित गरेको थियो।




 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    