Sagun Khabar
कर्मचारीका लागि पञ्चेश्वरले गुहार्यो प्रशासन !

बैतडी –जिल्लाको पञ्चेश्वर गाउँपालिकाले कर्मचारी नहुँदा प्रायःजसो कामहरु ठप्प रहेको भन्दै स्थानीय प्रशासनसंग मद्दत मागेको छ । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल नहुँदा काम गर्न नसकिने भएकाले स्थानीय प्रशासनको पनि ध्यानाकर्षण गराएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । उनले भने ‘गाउँपालिकामा कर्मचारी नभएको बिषयमा मैले केन्द्रमै समेत पुगेर गुनासो गरे । तर पनि कर्मचारी पठाइएको छैन् । असारको महिना समेत आईसक्यो । बिना कर्मचारी हामीले कसरी काम गर्ने ?’

गाउँपालिकामा लेखापाल नहुँदा उपभोक्ता समिति मार्फत गरिएका कामहरुको भुक्तानी समेत रोकिएको अध्यक्ष चन्दले बताए । उनले भने ‘प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अहिले इन्जिनियरलाई दिईएको छ । तर लेखापाल भने छैनन् । दशरथचन्द नगरपालिकामा कार्यरत लेखापालले केही सहयोग गरेको भएपनि काम गर्न असहज भएको छ ।’

Atrya hospital

गाउँपालिकामा मुख्य कर्मचारी नै नहुँदा भुक्तानी लगायतका कामहरुमा समस्या भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भुवन बागले बताए । उनले भने ‘लेखापाल नहुँदा आर्थिक क्रियाकलाप सबै रोकिएका छन् । यसले गर्दा गाउँपालिका अप्ठ्यारोमा परेको छ ।’

गाउँपालिकामा कर्मचारी नभएको बिषयमा गाउँपालिकाले जानकारी गराएको र आफूहरुले कर्मचारी व्यवस्थापनका लागि पहल गर्ने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनले भने ‘भुक्तानी रोकिने अवस्था आएको छ भनिएको छ । त्यो समस्या समाधानका लागि हामीले पहल गर्छौं । मन्त्रालयमा पनि लिखित रुपमा समस्याका बारेमा जानकारी गराउनेछौं ।’

जिल्लाका अधिकांश स्थानीय तहहरुले अहिले पनि कर्मचारीको अभाव झेलीरहेका छन् । स्थानीय तह अस्तित्वमा आएको चार बर्ष बढी भईसक्दा समेत उनीहरुले कर्मचारीकै अभाव झेलीरहेका हुन् । कतिपय ठाउँमा जनप्रतिनिधि र कर्मचारीबीच टकराव हुँदा कर्मचारी स्थानीय तहमा टिक्ने अवस्था नभएको कतिपय जानकारहरुको भनाई छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update