Sagun Khabar
बैतडीमा तराईबाट आउने सबैको कोरोना परीक्षण गरिँदै 

बैतडी-बैतडीमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तराईबाट बैतडी भित्रिने सबैको कोरोना परीक्षण हुँदै आएको छ । जेठ १८ गतेदेखि खोड्पेमा हेल्थ डेस्क स्थापना गरेर तराईबाट जिल्ला भित्रिने सबैको कोरोना परीक्षण हुँदै आएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

तराईका जिल्लाबाट खाद्यान्नका सामग्री बोकेका गाडीहरुमा सवार व्यक्तिहरुको समेत कोरोना परीक्षण भईरहेको उनले बताए । यस्तै सवारी अनुमति लिएर जिल्ला भित्रिने सवारी साधनका यात्रुहरुको पनि कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । उनले भने ‘हामीले जिल्ला भित्रिने सबैको खोड्पेमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दै आएका छौं । पोजेटिभ देखिएकाहरुलाई आइसोलेसनमा राख्ने गरेका छौं ।’

Atrya hospital

हेल्थ डेस्कमा ६ जना स्वास्थ्यकर्मी खटाईएका छन् । उनीहरुले बिहान ७ बजेदेखि साँझ सात बजे सम्म हेल्थ डेस्कमा कोरोना परीक्षण गर्ने गरेको बताइएको छ । हेल्थ डेस्क स्थापना भएपछि अहिले सम्म जिल्ला भित्रिने ५२८ जनाको कोरोना परीक्षण गरिएकोमा ४ जनामा पोजेटिभ देखिएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

खोड्पेको हेल्थ डेस्कमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएकाहरुलाई नजिकैको सिद्धदीप आधारभूत विद्यालयमा बनाइएको क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाइएको छ । तराईका जिल्लाबाट आउनेहरु मार्फत कोरोना संक्रमण नफैलियोस भन्नका लागि खोड्पेमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो ।

खोड्पेमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कले कोरोनाको चेन ब्रेकमा सहयोग पुर्याएको जिल्ला कोभीड व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । उनले भने ‘हामीले समुदायमा फैलिएको कोरोनाको चेन बे्रक गर्न परीक्षणको दायरा बढाएका छौं । सोही अन्तर्गत हामीले खोड्पेमा कोरोना परीक्षणको व्यवस्था मिलाएका हौं ।’

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update