Sagun Khabar
बैतडीमा गंगा श्री फाउण्डेसनले विपन्न परिवारलाई फेरी वितरण गर्यो राहत 

बैतडी –बैतडीमा गंगा श्री फाउण्डेसनले शनिबार  राहत वितरण गरेको छ । कोरोना भाईरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण गरिएको फाउण्डेसनका अध्यक्ष गणेशबहादुर बिष्टले जानकारी दिए । 

शनिबार पाटन नगरपालिका वडा नं ८का २५ विपन्न परिवारलाई २० केजीका दरले चामल वितरण गरिएको उनले बताए । बिष्टले भने, ‘हामीले समस्यामा परेका नागरिकलाई केही खाद्य सामग्री सहयोग गरेका छौं । यसले समस्यामा परेका नागरिकलाई केही सहयोग पुगोस भन्ने हाम्रो चाहना छ ।’

Atrya hospital

यसअघि फाउण्डेसनका तर्फबाट गएको सोमबार पनि पाटन नगरपालिका वडा नं ४ का ६५ विपन्न परिवारलाई २० केजीका दरले चामल वितरण गरिएको थियो । 

गंगा श्री फाउण्डेसन जनता मावि आरुबाटाका पूर्व अध्यक्ष एवं पूर्व शिक्षक गंगासिंह बिष्टको स्मृतिमा स्थापना गरिएको हो । फाउण्डेसन समस्यामा परेका नागरिकलाई सहयोग गर्नका लागि स्थापना भएको फाउण्डेसनका अध्यक्ष बिष्टले जानकारी दिए । 

यस्तै फाउण्डेसनले पाटन नगरपालिका अन्तर्गतका ५ ओटा विद्यालयका ५ जना छात्रछात्रालाई ५ हजारका दरले छात्रवृति दिने तयारी समेत गरिएको छ । सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने फाउण्डेसनले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update