Sagun Khabar
बैतडीमा कोरोना संक्रमणदर घट्दै 

बैतडी –बैतडीमा कोरोना संक्रमणदर घट्दै गएको छ । कोरोना दोश्रो लहर फैलिएपछि शुक्रबार संक्रमितको संख्या १ मा झरेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाख २० गते यता निषेधाज्ञा जारी रहेको छ । निषेधाज्ञा जारी भएपछि कोरोना संक्रमणदर कम हुँदै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘अहिले संक्रमणदर ओरोलो लागेको छ । स्वास्थ्यका मापदण्ड पालना गर्यौं भने अझै संक्रमणदर घट्छ ।’

अहिले कोरोना संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढ्दै गएको स्वास्थ्य प्रमुख भट्टले बताए । बैतडीमा कोरोना निको हुने दर ५८ प्रतिशतबाट बढेर ८९ प्रतिशत बढी पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Atrya hospital

 जिल्लामा अहिले सम्म २ हजार ४३७ जनामा कोरोना पुष्टि भएकोमा २ हजार १८७ जनाले कोरोना जितेका छन् । अहिले कोरोना निको हुने दर ८९.७४ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 यस्तै पालिकाहरुमा पनि संक्रमणदर घट्दै गएको छ । करीब ४ सयको हाराहारीमा सक्रिय संक्रमितको पुगेको दशरथचन्द नगरपालिकामा अहिले सक्रिय संक्रमितको संख्या ३१ मात्रै रहेको छ । जिल्लामा दैनिक संक्रमण दर घट्दै गएको स्वास्थ्य प्रमुख भट्टले जानकारी दिए । 

तर कोरोना संक्रमणको जोखिम भने कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुपर्नेमा उहाँले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update