कैलाली – ग्रेडरले किचेर ज्यान गुमाएकी १५ वर्षीया चेतना साउँदको न्यायका लागि धनगढीमा प्रर्दशन गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएका विद्यार्थीहरुलाई निशर्त रिहाइ गर्न माग गरिएको छ । विभिन्न राजनीतिक दल सम्बद्ध ८ विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
चेतनाको न्यायका निम्ति भइरहेको आन्दोलनप्रती ऐक्यबद्धता जनाउदै प्रर्दशनका क्रममा नियन्त्रणमा लिइएका विद्यार्थीहरुलाई रिहा गर्न जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा नेपाली कांग्रेस निकट नेविसंघ निवर्तमान सहमहामन्त्री अच्युत कलौनी, एमाले निकट अनेरास्ववियु सुदूरपश्चिमका संयोजक मनोज राई, माओवादी निकट अखिल क्रान्तिकारीका प्रदेश अध्यक्ष दिपककुमार डिसी, विप्लव नेकपा निकट अखिल क्रान्तिकारीका प्रदेश इन्चार्ज बबरजंग सिंह लगायतले हस्ताक्षर गरेका छन् ।
ग्रेडरको ठक्करबाट ज्यान गुमाएकी बालिकाका परिवारले प्रहरीले चालकविरुद्ध किटानी जाहेरी दर्ता गरेपछि शव बुझेका छन् । शुक्रबार निषेधाज्ञा तोडेर प्रर्दशनमा उत्रिएका २१ जना विद्यार्थी र केही स्थानीयलाई कैलाली प्रहरीले नियन्त्रणमा लिएको छ ।